
–मिना बुढाथोकी
सल्यान, २० पुस । सल्यानको एक नगरपालिकाले कामलाई प्राथमिकतामा राख्न मोबाईल एप्समा जनमत संकलन गर्ने भएको छ । शारदा नगरपालिकाले शुक्रबार मोबाईस एप्स सार्वजनिक गर्दै त्यसबाट कामको प्राथमिकता जानकारी लिन जनमत गर्ने भएको हो ।
नगरले विकास निर्माणका काम गर्नु अघि मोबाईल एप्समा कामसँग सम्बन्धित रहेर प्रश्न राख्ने र जनताले प्राथमिकीकरण गरेको कामका आधारमा योजना बनाउने जनाएको छ ।
नगरपालिकाको मोबाईल एप्समा उपलब्ध गराइएको नक्साबाटै नगरपालिकाले गर्न लागेका कामको अवस्था, बजेट विनियोजन र कामको प्रभावकारिता बनाउनका लागि जनमत संकलन गरिने नगरप्रमुख सुरेस अधिकारीले जानकारी दिए ।
मोबाईल एप्सबाट जनताको गुनासो सम्बोधन तथा सुझाव संकलन गर्ने उनले बताए । एप्सलाई प्रत्येक वडामा प्रभावकारी ढंगले संचालन गर्नका लागी वडा अध्यक्ष र वडा सचिवहरुलाई यस भित्रका सेवाहरुको बारेमा सम्पुर्ण जानकारी दिईने प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाहीले बताए ।
यस्तै नगरपालिकाको आम्दानी र खर्च विवरण, नगरप्रोफाइल, सबै कुरा इन्टरनेटको पहुंचमा भएका सबै जनताले मोबाइल एप्समा सजिलै हेर्न सक्ने उनको भनाई छ ।
मोबाईल एप्सबाट शारदा नगरपालिकाको परिचय, सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्था, नगरपालिकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानुन, महत्वपूर्ण स्थान, आपतकालिन नम्बरबारे जानकारी लिन सकिने नगरपालिकाले जनाएको छ ।












प्रतिक्रिया