बिहीबार, १९ पुष २०७५
DainikNepal.com
बिहीबार, १९ पुष २०७५

जो ‘गफ गरेरै’ अनेक समस्या ठिक पार्छन्

दैनिक नेपाल २०७५ पुष १८ गते ११:१८

काठमाडौं, १८ पुस । डम्बर राज भट्ट, बैतडीदेखि काठमाडौंसम्म आएको ठिटो । यो आम ठिटोको अहिलेको परिचय हो– मनोविज्ञ । उनका कयन ग्राहकहरू (क्लाइन्ट) छन् । उनी कहाँ मनोरोगको समस्याको पोको बोकेर मान्छे पुग्छन् । उपचार पद्दतीको समयसीमा हेरेर उनी काम गर्छन् । उनी ‘गफ गरेरै’ क्लाइन्टलाई ठिक पार्छन् । मनोरोगी ठिक भएको उनलाई थाहा हुन्छ ।

आफ्नो कामबारे उनी भन्छन्,‘यसका लागि हप्ताका एक पटक साइको थेरापीको विधिबाट काम थालिन्छ ।’

काउन्सिलिङ र साइको थेरापीको सम्बन्ध ‘टक थेरापी’सँग हुन्छ । तर, यी नितान्त भिन्न पद्दती भएको उनको विश्लेषण छ । भन्छन्,‘टक थेरापीका दुई पाटा मध्ये काउन्सिलिङ र साइको थेरापी हो । काउन्सिलिङ आम पद्दती हो, मेडिसिन (औषधी) पनि प्रयोग गरिन्छ । तर साइको थेरापी कुराकानीमा आधारित उपचार पद्दती हो, मेडिसिन प्रयोग हुँदैन ।’

उनी सरदर दैनिक १० जना मनोरोगी हेर्छन् । समस्या पहिचान भएपछि उपचार पद्दतीको अवधि तय गर्छन् । त्यस्तो समस्याबारे उदाहरण पेस गरेका उनी भन्छन्,‘एक जना सोसियलफोविया भएको विद्यार्थी मकहाँ आएका थिए । उनलाई ठूलो जमातमा बोल्न डर लाग्ने, पढाईमा फेल हुन्छु की भन्ने त्रास हुने, भविष्य विग्रन्छ की भन्ने भय रहेछ । समस्या पहिचान भएपछि ५ हप्तामा उनलाई साइको थेरापीबाट ठिक बनाएँ । अहिले उनको जीवनमा सामान्य हिसाबले चलिरहेको छ ।’

यस्ता मात्र होइन, अनेक प्रकारका समस्या लिएर उनीकहाँ पुग्ने मनग्गे छन् । चार बर्षदेखि निरन्तर उनले मनोरोगको उपचार पद्दतीका लागि साइको थेरापी जारी राखेका छन् । त्यसका लागिभट्ट साइको थेरापी भन्ने उनको क्लिनिक नै छ, चाबहिलमा ।

उनी भन्छन्, ‘आफुलाई समस्या भएको वा व्यवाहारमा असाधारणपन आएको ठान्नेहरू साइको थेरापीका लागि आउने गरेका छन् । यो, मानिसका सोच र व्यवाहार परिवर्तन गर्ने काम हो । उसले नै थाहा नपाउने गरी ठिक पारिन्छ ।’

मानसिक रोग चिकित्सक अथवा विशेषज्ञले गर्ने उपचार पद्दती र आफुले गर्नेमा फरक रहेको उनी बताउँछन् । ‘मानसिक समस्या औषधीले पनि निको हुुन्छ । तर औषधि खाँदा पनि निको नभएको समस्याको साइकोथेरापी गराउँदा निको हुने सम्भावना अझै बढ्ने गर्दछ’, उनी जोड्छन्,‘यो एउटा पद्दती हो, समस्या भएका व्यक्तिले व्यवहार परिवर्तनका लागि बल लगाउन पर्दैन, आफैं हुन्छ ।’

चिकित्सकले समस्याको लक्षणहरूलाई पहिचान गरेर औषधी तय गर्ने गर्दछन् भने मनोचिकित्सामा रोग पहिचान गरि सकेपछि व्यक्तिको बाल्यकालदेखि वर्तमान अवस्थासम्मको सुक्ष्म अध्ययन नै गर्नुपर्ने हुन्छ ।

साइकोथेरापी प्रिन्सिपल र प्रोटोकलमा अधारित हुने गर्दछ । व्यक्तिको समस्या र विगतको अधारमा साइकोथेरापीको विधि तय गरिन्छ र त्यसैले समय अवधि पनि निर्धारण गर्ने गर्दछ ।

उनी समस्या कहाँदेखि सुरु भयो भनेर थेरापी गर्छन् । उनले प्रोटोकल र प्रिन्सिपलमा आधारित रहेर समस्याको पहिचान गर्छन् । ‘यस्तो पद्दतीको उपचारका लागि मैले तालिम नै लिएको छ, त्रिभुवन विश्वविद्यालयमा अध्ययन पनि गरेको छु ।’

विरामीको अवस्थाका आधारमा विधि तयार पारेर उनी काम गर्छन् । समस्या पत्ता लागेपछि उपचारको पद्दती नै हुने गरेको उनी बताउँछन् ।

साइको थेरापी लिन आउने क्लाइन्टका आधारमा उनी भन्छन्,‘यस्ता समस्या सबैलाई हुने रहेछ । उच्च सरकारी अधिकारी, उच्च घरानाका महिला पुरुष पनि मकहाँ आउँछन् । समस्या भएका व्यक्ति, मेरा क्लाइन्टको परिचय खुलाउन मिल्दैन ।’

मानसिक समस्या औषधीले पनि निको हुुन्छ । तर औषधि खाँदा पनि निको नभएको समस्याको साइकोथेरापी गराउँदा निको हुने सम्भावना अझै बढ्ने गर्दछ, यो एउटा पद्दती हो, समस्या भएका व्यक्तिले व्यवहार परिवर्तनका लागि बल लगाउन पर्दैन, आफैं हुन्छ

यो उपचार पद्दती एउटा क्लाइन्टलाई दैनिक गर्नचाहीँ नमिल्ने रहेछ । उनी जोड्छन्,‘हप्तामा एक पटक गरिन्छ । त्यसपछि उसको सोच र व्यवाहारमा कति परिवर्तन आयो भन्ने हामी पत्तो पाउँछौं । पहिलो हप्तादेखि दोस्रो हुँदै विधिगत रूपमा थेरापीको काम सक्ने गरिन्छ । अलि बढि समय लाग्ने प्रकारका पनि क्लाइन्ट आउँछन् ।’

कतिपय ‘एडिक्ट’ पनि उनीकहाँ उपचार लिन आइपुगेका छन् । सुधार केन्द्रमा बसेका तर व्यवाहारमा परिवर्तन गर्न नसकेका ग्राहकलाई हेरिरहेका उनी भन्छन्,‘डिप्रेशन र एडिक्शन एक ठाउँमा राखेर तुलना गर्न मिल्दैन । व्यक्तित्व असन्तुलनको विषय भनेको बच्चादेखि नै भएको हुन्छ । कुनै खास घटनाले भएको हुन्छ । यसका उपचारका विधि र समय अलग–अलग हुन्छन् ।’

क्लिनिक खोलेर सेवा दिन थाल्दा सुरुका दिनमा उनी आफैंलाई पनि असहज लागेको थियो । तर, निरन्तर गर्न थालेपछि अहिले यसलाई व्यावसाय र सेवा दुवै नजरमा हेर्ने गर्छन् । उनी भन्छन्,‘मनोवैज्ञानिक समस्या सबैलाई हुन्छ । यसमा पारिवारिक पृष्ठभुमी, उसको हैसियत र व्यक्तित्व भन्ने हुँदैन । कतिपयलाई थाहा हुँदैन, कतिपयले थाहा पाएर रोक्ने प्रयत्न गर्छन् । कतिपय उपचारमा पुग्छन् । हरेक क्षेत्रका मानिस मकहाँ आउने गरेका छन् ।’

‘रिल्याक्स’ गर्न फूर्सद नभएका व्यक्ति बढि आउँछन् । प्रेम, कामको तनावलगायत भएका व्यक्ति बढी आउँछन् । यो समस्या समाधान हुने देखिँदैन, व्यवस्थापन गर्ने हो । दुई बर्ष तीन बर्ष मेडिटेशन गरेका मानिस पनि आएका छन् । उपचारको विकल्प देखिँदैन ।

उनी भन्छन्,‘महिला पुरुष, युवा युवती वा विभिन्न व्यक्तित्व भएका व्यक्तिमा यो समस्या समान जस्तो पाएको छु । डिप्रेशन, इन्जाइटीबाट यस्ता समस्या सुरुआत हुन्छन् । औषधि खाने भन्दा नखाई मकहाँ आउनेको उपचार छिटो भएको पाएको छु ।’

प्रतिक्रिया
सम्बन्धित