
काठमाडौँ, १७ पुस । सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क व्यक्तिगत दुर्घटना बीमा नविकरण भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा मंगलबार नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षदेखि सुरु गरिएको प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको निःशुल्क बीमा पोलिसीको नविकरण गरेको हो ।
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपालले देश र जनताको सेवालाई आफ्नो मुलमन्त्र मानी राज्यद्वारा सुम्पिएको जिम्मेवारीलाई नविन शैली तथा व्यवसायिक सोचकासाथ उत्कृष्ट कार्यसम्पादन गर्दै आइरहेको बताए ।
प्राप्त जिम्मेवारीहरुमध्ये विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यलाई योजनाबद्ध रुपले कार्यान्वयन गर्दै आइरहेको पनि केसीले बताए ।
उनले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु देशका विभिन्न स्थानहरुमा भएको जल उत्पन्न विपद प्रकोप उद्वार कार्यमा खटिई उत्कृष्ट उद्वारकको रुपमा कार्य गर्दै आइरहेको बताउँदै संंगठनले विपद व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी काठमाडौं उपत्यका लगायत सबै प्रदेशहरुमा परिचालन गरिएको बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले बीमा पोलिसीले उद्वारकर्मीहरुलाई कार्यक्षेत्रमा खटिइदा अझै बढि हौसला मिल्ने विश्वास व्यक्त गरे ।
इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले विपद व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कौशल प्रदर्शन गर्दै आएको सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुलाई कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्षदेखि शुरु गरिएको निःशुल्क बीमा पोलिसी नविकरण गर्न पाउँदा गर्वको महशुस भएको बताए ।
उनले जोखिमयुक्त कार्यमा खटिने सुरक्षाकर्मीको सम्मान गर्दै पोलिसी मार्फत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।












प्रतिक्रिया