
-मिना बुढाथोकी
सल्यान, १३ पुस । विपद् पूर्वसूचना प्रणाली सवलीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र सरोकारवालाहरुसँग छलफल कार्यक्रम शुक्रबार खलंगामा सम्पन्न भएको छ । दलित विकास समाज सल्यानको आयोजनामा जिल्लास्थित सरोकारवाला संग विपद पुर्व सुचना प्रणाली सवलीकरणका लागी जिल्ला विपद व्यवस्थापनका विषयमा छलफल गरिएको हो ।
जोखिमका अवस्थामा रहेका समुदायको खाद्य उपलब्धताको अवस्थामा सुधार ल्याउने,उच्च पहाडी भेगमा रहेका घरधुरीको आम्दानी बढाउने र जोखिममा रहेका घरधुरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यका साथ पहल कार्यक्रम अन्तरगत विगत एक वर्ष यता भएका कार्यक्रमका बारेमा दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी गराए ।
विगत एक वर्ष यता पहल कार्यक्रम अन्तरगत विपद जोखिम न्युनिकरण गर्न घरधुरी तहको सहभागिता बढाउन पहल कार्यक्षेत्रमा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको उनले बताएका छन् ।
प्राकृतिक विपद्वाट हुन सक्ने धनजनको क्षतिलाई रोक्नको लागि कालीमाटी गाउँपालीका –२ र ३ नम्बर वडामा चालीस हजार वरावरको उद्धार सामग्रीहरु हस्तान्तरण गरेको उनले जनाए । यस्तै जिल्ला विपद् ब्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी सल्यान प्राविधिक सहयोग र पहल कार्यक्रमको आर्थिक सहयोगमा विपद् पूर्व तयारी प्रतिकार्य योजना डीपीआरपी २०७५ प्रकाशित गरेको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले सबै स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन हुनु पर्ने बताए । विपद व्यव्स्थापन गर्नका लागी स्थानीय तहले र वडा तहसम्म समिति गठन गर्न पहल गर्नु पर्ने बताउँदै उनले विपद व्यवस्थापनका लागी प्रशासन कार्यालयले सधैं सहयोग गर्ने बताए ।
यस्तै, ग्यास सिलेन्डर पड्किएर बिभिन्न खालका विपदका घटना हुन सक्ने भन्दै शसस्त्र प्रहरी प्रमुख विमल डाँगीले यस्तो अवस्थामा नआत्तिएर आगो नियन्त्रणमा लिन सकिने बताएका छन् । बिशेस गरी महिलाहरुले दैनिक भान्सामा खाना पकाउनको लागी ग्यास, सिलेन्डर प्रयोग गर्ने भएकाले कुनै पनि समयमा यस्ता घटना हुन सक्ने भन्दै सिलेन्डरमा लागेको आगो सजिलै निभाउन सकिने बताए ।












प्रतिक्रिया