
कावासोती, १३ पुस । तीर्थराज स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार प्रेम चन्द्र रौनियारलाई प्रदान गरिएको छ । नवलपुर एफ.एमका संस्थापक तीर्थराज भुसालको पहिलो स्मृति दिवसको अवसरमा पत्रकार रौनियारलाई सम्मान गरिएको हो ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशिल रौनियारलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको हो ।
यस्तै शुक्रबार नै पत्रकार तीर्थराज भुषाल स्मृति ट्रष्टको घोषणासमेत गरिएको छ । ट्रष्ट अन्तर्गत हरेक वर्ष स्व. भुसालको वार्षीक तीथिमा लामो समय पत्रकारिता क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गरिने जनाइएको छ ।
कार्यक्रममा बोल्दै ट्रष्टका तदर्थ समिति संयोजक झपेन्द्रश्वर भुषालले ट्रष्टमा रहेको रकमलाई पारदर्शी रुपमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा ट्रष्टको विकासको लागि नेपाली कांग्रेसका नेता तथा समाजसेवी विष्णु कुमार कार्कीले १ लाख ५१ ह्जार, नेपाल महिला संघकी जिल्ला सचिव सरस्वति तिमिल्सीनाले ५१ हजार र रोटरी क्लबबाट २५ हजार दिने घोषणा गरेका छन् ।
वि.स. २०७१ सालमा नवलपुरको कावासोतीमा नवलपुर एफ.एम. सञ्चालनमा ल्याएका स्व. भुसाल समाचार संकलनका क्रममा दाउन्नेमा सवारी दुर्घटनामा परी २०७४ साल मंसिर २३ गते निधन भएको थियो ।












प्रतिक्रिया