
रसुवा, १२ पुस । रसुवामा रिङरोडको रुपमा सडक विस्तार भएको छ । जिल्लाको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर ३ बृद्धिम र खाम्जीङ जोड्ने कृषि सडक निर्माण पुरा भएपश्चात रिङरोडको रुपमा सडक विस्तार भएको हो ।
पासाङल्हामु राजमार्गको स्याफ्रु रसुवागढी हाइवे सडक संजालसँग लिङलिङ र रोङ्गाजोडिएपछि बृद्धिम हुदै खाम्जीङ जोड्ने सडक रिङरोडको रुपमा देखिएको हो । लिङलिङ, बृद्धिम खाम्जीङ र रोङगाको कृषि सडक निर्माण सम्पन्न भएको छ ।
भुकम्पपश्चात लिङलिङ र बृद्धिम तथा रोङगा र खाम्जीङ कृषि सडक निर्माणका लागि स्थानियवासी तथा विभिन्न संघसस्थाको सहयोगमा रकम जम्मा गरि सडक निर्माण गरिएको हो । पछिल्लो समय संसद विकास कोष र गोसाईकुण्ड गाउँपालिकाको करिब १ करोडको लागतमा सडक निर्माण भएको छ । लिङलिङदेखि बृद्धिम, खाम्जीङ हुँदै रोङगासम्मको करिब १६ किलोमिटर कृषि सडक निर्माण भएको छ ।
कृषि सडक निर्माण भई रिङरोडको रुपमा विस्तार भएसँगै तीन सय घरधुरी लाभान्वित भएका छन् । रिङरोडको रुपमा विकास भएको यो सडक हुँदै पर्यटकिय क्षेत्र लाङटाङ जाने सडक समेत बिस्तार भइरहेको गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ ।
जिल्लामा सडकको पहुँचन पुगेका स्थानहरुमा सडक पुर्याउने अभियान अन्तर्गत सांसद मोहन आचार्यले व्यक्तगित लगानीमा एस्काभेटर खरद गरेर दिएका थिए । गोसाईकुण्ड गाउँपालिकाको बृद्धिमदेखि खाम्जीङसम्मको कृषि सडक निर्माणका लागि सांसद आचार्यले प्रदान गरेको एस्काभेटरको प्रयोग गरि सडक निर्माण गरेपश्चात बृद्धिम र खाम्जीङ सडक जोडिएको हो । सडक निर्माणपछि पर्यटन विकास तथा कृषिउपज सँगै कम मूल्यमा सामाग्री ढुवानीका लागि समेत सहज भएको स्थानीयहरु बताउँछन् ।
तामाङ सम्पदामार्गमा रहने यो पदमामार्ग निर्माणबाट पर्यटकिय क्षेत्र लाङटाङ जाने पदयात्रीहरुलाई समेत सुविधा पुगेको छ।












प्रतिक्रिया