२० कार्तिक २०८३, शुक्रबार

घलेलाई लखट्ने क्रममा दलदलमा खसेको गैँडा मर्‍यो, घलेको उपचार हुँदै

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ पुस । दलदलमा खसेर शुक्रबार यहाँ एक गैँडाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२४ चियानडाँडादेखि ३०० मिटर गोलाघाटतर्फ सो गैँडा मरेको हो ।

स्थानीय ६२ वर्षीय रहर सिंह घलेलाई लखट्ने क्रममा घले र गैँडा दुवै दलदलमा खसेका थिए । करीब १५ मिटर अग्लो डिलबाट खसेका गैँडा र घले दुवै घाइते भएका थिए । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार घाइते घलेको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

डिलबाट खसेर दलदलमा परेको घाइते गैँडाको उद्धार गर्ने क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो । अन्दाजी १० वर्षको पोथी गैँडा दिउँसो सामुदायीक वनबाट निस्किएर बस्ती प्रवेश गरी मान्छेलाई लखेटेको थियो । सोही क्रममा दुर्घटना भएको हो । चालू आर्थिक वर्षको हालसम्म निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले २० गैँडा मरेका छन् भने गत आर्थिक वर्षमा २६ गैँडा मरेका थिए । –रासस