काठमाडौं, ३ पुस । पदको दुरुपयोग गर्दै प्रशासनिक संयन्त्रमा ‘कू’ गर्न थालेका प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक बढुवा सम्बन्धी कार्यविधिलाई लोप्पा खुवाउँदै लोक सेवा आयोगमा धोकाधरीपूर्ण जवाफ माग गरेको फेला परेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
आफ्नालाई रोलक्रममा प्रधान सेनापति बनाउनका लागि उनले बढुवा सम्बन्धी कार्यविधिको धज्जी मात्र उडाएका छैनन्, लोक सेवा आयोगलाई सहायकरथी बढुवाको जवाफ माग्दा दबाबपूर्ण पत्र काटेका थिए । सोही अनुसार योग्यताको विषयमा पठाएको एउटा पत्रमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली पनि प्रभावित भएको देखिन्छ ।
सहायक रथी नैनराज दाहालको उपरथीमा बढुवाका लागि दिइएको शैक्षिक प्रमाण पत्र नियोजित रूपमा गलत सावित गराउनका लागि थापा र मैनालीको मिलोमतोमा सैनिक जंगी अड्डामा पत्रको खेल अगाडी सारिएको छ ।
जुन, सैनिक बढुवा सम्बन्धी कार्यविधिको विपरित छ । सहायक रथी दहालले आफूलाई अन्याय गरेको भनी सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । त्यसको पहिलो अन्तरिम आदेश जारी भएको थियो तर थापाको प्रशासनिक भिटो पावरमा सर्वोच्चका अर्का न्यायाधीशलाई अन्तरिम आदेश दिन नपर्ने फैसलाका लागि दबाब दिइएको थियो ।
त्यसैको आधारमा गएको १४ भदौमा पदोन्नती हुन नसक्ने भन्दै दहाललाई सैनिक सचिव सरोजप्रताप राणाले पत्र पठाएका थिए । दहालले खुला विश्वविद्यालयमा अध्ययन गरेको प्रमाणपत्र बढुवाका लागि पेस गरेका थिए । जुन त्रिभुवन विश्वविद्यालयले पनि मान्यताका साथ दहालको स्नात्तकोत्तर अध्ययनका लागि खुला गरेको थियो ।
प्रधान सेनापति थापाको दबाबमा सैनिक सचिव राणाले दहाललाई पठाएको पत्रमा भनिएको छ,‘लोक सेवा आयोगमा उक्त विषयमा पदोन्नती सम्बन्धमा सोधिएको थियो । तर, लोक सेवाले पदोन्नतीका लागि कुनै त्यस्तो नीति नभएको जवाफ पठाएका कारण बढुवा समितिको निर्णयलाई सदर गरिएको छ ।’ दहालले इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेका हुन् ।
जसको मान्यता संयुक्त राष्ट्र संघले पनि दिने गरेको छ । त्यसैका आधारमा सुडान मिसनमा दाहाल सक्रिय हुँदा राम्रो काम गरेवापत संयुक्त राष्ट्र संघले पनि पुरस्कृत गरिसकेको छ । तर बढुवाका समयमा भने त्यसैलाई हतियार बनाएर प्रधान सेनापति थापाले दहाललाई रोक्ने नियोजित स्वार्थलाई कानुनी आधार बनाउने कोशिश गरेका छन् ।
लोक सेवाको उक्त पत्र पनि जनप्रहारसँग सुरक्षित छ । सैनिक बढुवा सम्बन्धी कार्यविधि र नेपालका शिक्षा मन्त्रालयले पनि मान्यता दिएको उक्त विषयमा लोक सेवा आयोगले पनि सैनिक जंगी अड्डालाई हचुवाका भरमा पत्र लेखेको पुष्टि हुन्छ ।
जबकी, मन्त्रीस्तरिय निर्णयबाट रक्षा मन्त्रालयले सैनिक बढुवा सम्बन्धी कार्यविधिमा खुला विश्वविद्यालयमा अध्ययन गरेका अधिकारीलाई बढुवामा कुनै रोक नलगाउने प्रष्ट बनाइसकेको छ ।
राष्ट्रिय रक्षा प्रशिक्षण (एनडीसी) तालिम गरेका दहालको हकमा मात्र उक्त कार्यविधिले तोकेको नियमविपरित प्रधान सेनापति थापा अगाडी बढेको तथ्य फेला परेको हो । ४ साउन २०७४ मा मन्त्रीस्तरिय बैठकले तय गरेको कार्यविधिमा भनिएको छ,‘खुला विश्वविद्यालयबाट उत्तिर्ण प्रमाणपत्रको हकमा नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्रलाई मात्र मान्यता दिइनेछ ।’
जबकि, दहालले अध्ययन गरेको इन्दिरा गान्धी खुला विश्वविद्यालयलाई नेपाल सरकारले त मान्यता दिएकै छ, मान्यता प्राप्त विश्वविद्यालयका हकमा विश्वका धेरै देशमा कलेज सञ्चालन भएका छन् । यस हिसाबले दहालमाथि नियोजित अन्याय गरेको पुष्टि हुन्छ ।
आफुमाथि अन्याय भएपछि रक्षा मन्त्रालयसहित प्रधान सेनापतिको नाममा दहालले बढुवा प्रक्रियामा रोकिनुको कारण खोज्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको सम्बन्धमा पनि नियमानुसार निवेदन दिएका थिए ।
गएको १५ भदौमा प्रधान सेनापति थापालाई उनले दिएको निवेदनमा भनिएको छ,‘मैले कार्यविधिअनुसार नै नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयको प्रमाणित प्रमाणपत्रसहित बढुवा समितिमा पेस गरेको निवेदनलाई वेवास्ता हुँदा अन्याय गरियो । यसलाई सर्वोच्च अदालतमार्फत प्रमाणित गराउन चहान्छु । आइन्दा म जस्तालाई अन्याय नपरोस् भन्नका निम्ति ।’ दहालले १७ भदौ २०४१ सालदेखि सैन्य सेवा सुरु गरेका थिए ।
उनले आफ्ना हकमा प्रमाणित गर्नका लागि आवश्यक सबै प्रमाण पत्र सैनिक जंगी अड्डा, सर्वोच्च अदालत, रक्षा मन्त्रालयमा पनि पेस गरेका थिए । तर, थापाको नियोजित आक्रमणको शिकारमा परेका उनको बढुवा रोक्नका लागि अन्यलाई पनि सहिद बनाइयो ।
बस्न्यातलाई पनि यसरी छेकियो
उपरथी पदमा बढुवाका लागि योग्य रहेका अनुज बस्न्यातलाई बाटो छेक्न थापाले बलाधीकृत रथी नै बनाउनेमा आलटाल गरे । २५ मंसिरमा बस्न्यताको म्याद सकिएपछि थापा अगाडी बढेका हुन् । लामो समयसम्म खाली राखेको उक्त पदमा अर्कालाई ल्याउने र आफ्ना लाइनकालाई जिम्मेबारी दिनका लागि थापा अघि बढेका थिए । त्यसका उदाहरण पछिल्ला चरणमा गरिएका बढुवाका काम हुन् । २५ मंसिर वित्नासाथ थापा भटाभट आफ्नालाई अगाडी बढाउने खेलमा लागि परे ।
आफू महारथी भएपछि चार महिनासम्म उनले रथी पद खाली गरे । अब, उक्त रथी पदमा आफ्ना नजिकका शरद गिरीलाई ल्याउने खेलमा थापा सफल भएका छन् । सेकेन्डम्यान नै आफ्ना ल्याएपछि सेनाभित्र हुने विभिन्न प्रकारका भ्रष्टाचारका कर्ममा थापालाई सहज हुने सैन्य अधिकारी बताउँछन् ।
रथी पदमा बढुवाका लागि बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिनको बाहनामा थापाले रिक्त रहेको रथीमा कसैलाई बढुवा गरेका थिएनन् । त्यसमा उनको नीहित स्वार्थले काम गरेको थियो ।
बढुवाको पहिलो हकदार रहेका उपरथी अनुज बस्न्यात लगायतका ७ हजार भन्दा बढी सैनिक अधिकृतहरूलाई प्रमाणपत्र छानबिनको बाहनामा रोकियो । जंगी अड्डाले परीक्षा नियन्त्रण कार्यालयसँग बस्न्यातको प्रोभिजनल प्रमाणपत्र माग गरेको हल्ला पिटाइएको थियो । तर आफ्ना सबै शैक्षिक योग्यताका कागज उनले रक्षा मन्त्रालयमा पेस गरेका थिए ।
उपरथी बस्न्यातले सैनिक मुख्यालय र रक्षा मन्त्रालय समक्ष प्रवेशिका, प्रमाणपत्र र स्नातक तहका शैक्षिक प्रमाणपत्र, सैनिक परिचयपत्र, सञ्चयकोष परिचयपत्र, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको आफ्नो नागरिकता र नागरिकता कुन सालमा जारी भएको भन्नेबारे काठमाडौं प्रशासन कार्यालयबाट प्रमाणित कागजात पनि पेश गरिसकेका थिए ।
विगतमा छत्रमानसिंह गुरूङले उपरथी नेपाल भुषण चन्दलाई आफुपछिको प्रधानसेनापतिको रोलक्रममा राख्न वरिष्ठ उपरथी गौरव शमशेर जवराको ३ महिना रथी पद रिक्त हुँदा समेत बढुवा नगरि विष्णुप्रसाद पौडेल रक्षा मन्त्री रहँदा झलनाथ खनाल सरकारका पालामा तीन महिना पछि चन्द र राणाको नाम सिफारिस गरेका थिए तर त्यसबेला सरकारले ७ दिन अघि राणालाई र ७ दिन पछि चन्दलाई रथीमा बढुवा गरेको थियो ।
हाल प्रधानसेनापति थापापछि भावी प्रधान सेनापति उपरथीहरू प्रभुराम शर्मा, शरद गिरी र समिर शाही मध्ये एक हुने छन् । अहिले जो रथीमा बढुवा भए पनि २ वर्ष पछि अवकाश हुने र पछि रिक्त हुने रथी पदमा जो बढुवा भयो उही तीन वर्ष पछि प्रधान सेनापति हुनेछन् ।















प्रतिक्रिया