कपिलवस्तु, १८ मंसिर । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा ४ सय ३८ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । जसमध्ये १ सय ८८ जना महिला र २ सय ५० जना पुरुष छन् । २७औं अपांगता दिवसको अवसरमा आयोजित कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सो तथ्यांकबारे जानकारी दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थारुले सेवा प्रदाय संस्थाहरु अधिकांश वहालमा बस्ने भएकाले पूर्णरुपमा अपांगतमैत्री हुन नसकेको बताए । शिवराज नगरपालिकाले यस क्षेत्रमा अपांगता भएका व्यक्रिहरुलाई पर्ने समस्याहरु समाधानको लागि योजनासहित बजेट विनियोजन गरेको उनले बताए । उनले भने, ‘गत वर्ष ह्वील चियर वितरण ग¥यौं । यस वर्ष १० जना फरक क्षमता भएका किशोरीहरुलाई आत्मनिर्भर बनाउन बुटिक तालिममा सहभागी गराएका छौं ।’
दिवसको अवसरमा अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । अपांग पुनस्र्थापना समिति शिवराजको आयोजनमा अपांगता भएका विद्यार्थीहरुलाई पढाइप्रति हौसला बढाउन शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा नेपाल आदर्श शिवपुरमा अध्ययनरत ८ जना दृष्टिविहीन विद्यार्थीहरुलाई रेडियो सेट वितरण गरिएको थियो । दृष्टीविहीनहरुलाई अध्ययन गर्न सजिलो हुने भएकाले रेडियो वितरण गरिएको आयोजक संस्था अपाङ्गता पुनस्र्थापना समिति शिवराज नगर अध्यक्ष दीपक खड्काले जानकारी दिए । यस्तै आधारभूत तहमा अध्ययनरत विभिन्न रुपमा अपाङ्गता भएका २२ जना बालबालिकाहरुलाई कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको पुनस्र्थापना समितिका नगर अध्यक्ष खडकाले बताए ।
कार्यक्रमको अवसरमा नगर अध्यक्ष खड्काले शिवराज नगरभित्र रहेका संघ सस्था तथा सरोकारवाला निकायहरु अपाङ्गमैत्री नभएको गुनासो गए । जिल्लाकै पश्चिमी क्षेत्रको मुख्य बजार चन्द्रौटामा ११ वटा बित्तीय संस्थाहरुमध्ये एउटा मात्र अपाङ्गमैत्री रहेको जानकारी गराउँदै हरेक निकाय अपांगताको सेवा सुविधालाई मध्यनजर गर्दै भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णुप्रसाद खतिवडाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरु देशका उच्च पदस्थमा रहेको उदाहरण दिंदै अपांगता अधिकार कानुनमा मात्र सीमित भएको गुनासो गरे ।













प्रतिक्रिया