२० कार्तिक २०८३, शुक्रबार

महिनावारी भएका छात्राका लागि विद्यालयमै विश्राम कक्ष

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, १२ मंसिर । सल्यानमा महिनावारी हुने छात्राहरुको समस्यालाई ध्यानमा राखेर विश्राम कक्ष निर्माण गरिएको छ । महिनावारी भएको बेला विद्यालय नै नजाने समस्या देखिएपछि विद्यालयमा छुट्टै विश्राम कक्ष निर्माण गरिएको हो । जिल्लाको कपुरकोट गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै माध्यामिक विद्यालयहरुमा छात्राको लागि आवश्यक सामग्रीको व्यवस्थापन सहित विश्राम कक्षको स्थापना गरिदिएको छ ।

विश्राम कक्षमा कुनै पनि छात्रा महिनावारी भएको बेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने र अत्यधिक दुखाइ भएमा औषधी समेत सेवन गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले जनाए । ‘पहिले पहिले महिनावारी भएको बेला छात्राहरु स्कुलमा आउँदैनथे । आएपनि पेट दुखेको छ भनेर बिचमै कक्षा छाडेर घर जाने गर्दथे,’ उनले भने, ‘अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्न सक्नेछन् ।’

विश्राम कक्षका लागि कपुरकोट गाउँपालिकाभित्रका माध्यामिक विद्यालयहरुले एउटा छुट्टै कोठाको व्यवस्था गरेका छन् । जसमा गाउँपालिकाले आराम गर्नका लागी बेड, स्यानेटरि प्याड, प्रयोग गरेको प्याड राख्ने डस्वीन, टाउको, पेट दुखेमा, ज्वरो आएमा, चोटपटक लागेमा प्रमथमिक उपचार गर्ने आवश्यक औषधी र सामग्रीहरुको व्यवस्था गरिदिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले जानकारी दिए ।

उनले भने, ‘विशेष गरि पहिलोपटक महिनावारी हुने छात्रालाई बढि पीडा हुन सक्छ । विद्यालयमा रहेको बेला महिनावारी भएमा छात्राहरु निकै समस्यामा पर्ने गर्छन् । त्यहि समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ ।’ कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै अध्यक्ष सेनले महिनावारी भएको बेलामा पनि अभिभावकले स्कूल पठाउनेपर्ने बताए ।सल्यानका धेरैजसो विद्यालयमा शौचालय, आराम गर्ने ठाउँ नहुँदा छात्राहरुले निकै समस्या व्यहोर्ने गरेका छन् । महिनावारी भएको बेला पाँच छ दिनसम्म स्कुल नआउने समस्या रहेको सम्बन्धित विद्यालयका प्रअहरु बताउँछन् ।

छात्रा विश्राम कक्ष निर्माण गर्ने कार्य नमुना र प्रभावकारी भएको भन्दै विद्यालयहरुले कपुरकोट गाउँपालिकाको प्रशंशा गरेका छन् । गत वर्ष अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले विद्यालयमा छात्राहरुलाई आराम गर्ने कोठा निर्माण गरिने प्रतिवद्धता गरेका थिए । त्यहि प्रतिवद्धता अनुसार हरेक विद्यालयमा किशोरीमैत्री शौचालय, रेष्ट रुम र सेनेटरि प्याडको व्यवस्था गरिएको हो ।

महिनावारी भएको बेलामा दैनिक सरफाइ गर्नु पर्ने र सन्तुलित खानाका साथै आरामको व्यवस्था गराउनु पर्ने बारेमा विद्यालय स्तरमा जनचेतना फैलाउने कार्य पनि गरिरहेको प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजालले जनाएका छन् । हालसम्म पनि महिनावारी भएको बेलामा लाज मान्ने, खुलेर कुरा गर्न नसक्ने र सरफाइमा समस्या आउने भएकोले धार्मिक संस्कार भन्दा पनि सरसफाइमा जागरुक गराउन पर्ने उनको जोड छ ।