२० कार्तिक २०८३, शुक्रबार

तीस तोला सुनका गहना चोर्ने पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ५ मङ्सिर । यहाँको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव अवस्थी र कैलालीको गोदावरी नगरपालिका–९ बस्ने २३ वर्षीय दीपकबहादुर बमलाई प्रहरीले गहनासहित पक्राउ गरेको हो । घरमा कोही नभएका बेला ढोकाको ताला फुटालेर गहना चोरी गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

चोरीको गहना सस्तोमा किन्ने कैलालीको धनगढी उपमहानगरपालिका–३ का सुर्मादेवी सुनचाँदी गहना पसलका सञ्चालक ३५ वर्षीय दीपेन्द्र सोवलाई समेत प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्नबाट प्रहरीले सुनको तिलहरी छड्के एक थान, सानो तिलहरी थान एक, औंठी विना पत्थरको थान एक, जुली एक सेट दुई थान, सिरफुल चन्द्रमा थान एक, बालि दुई जोर चार थान, नाकको फुली एक थान, चाँदीको हार थान एक र चाँदीका सिक्का २६ थान बरामद गरेको छ ।

गहना चोरी भएका हर्कबहादुर कामीले प्रहरीमा दिएको जाहेरीअनुसार सुनका १५ थान गहना झण्डै ३० तोला, चाँदीका १० तोलाका सिक्का, चाँदीको २०० ग्रामको पाउजु र रु ५० हजार चोरी भएको थियो । चोरीमा संलग्न र चोरीका गहना खरिद गर्ने तीनै जनालाई इपका झलारीको हिरासतमा राखिएको छ । –रासस