२० कार्तिक २०८३, शुक्रबार

श्रममन्त्री विष्ट र अमेरिकी राजदूतबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ मंसिर । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार भएको भेटका अवसरमा नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका साथै परस्परिक सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको बताइएको छ । मन्त्री विष्टले श्रम आप्रवासनका क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीहरुको बारेमा चर्चा गर्दै मन्त्रालयबाट हालसालै अघि बढाइएका नीतिगत, संरचनागत एवं प्रकृयागत सुधारका सम्बन्धमा प्रकाश पारे ।

आन्तरिक रोजगारी नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको र मुलुकभित्र यथेष्ट मात्रामा आन्तरिक रोजगारीका अवसर सृजना नहुन्जेल वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्नेतर्फ ध्यान केन्द्रित रहेको मन्त्री विष्टले उल्लेख गरे । वैदेशिक रोजगारीका सम्बन्धमा हुने सबै प्रकारका ठगी, जालसाझी एवं विकृति नियन्त्रणका साथै मानव वेचविखनका सम्बन्धमा नेपाल सरकार र अमेरिकी सरकारबीच समान धारणा रहेको विषय समेत चर्चा गरे ।

यसका लागि कोलम्बो प्रोसेस र जिसिएम जस्ता अन्तर्राष्ट्रिय मञ्चहरुको उपयोग गर्न सकिने विषयका बारेमा समेत छलफल भएको थियो । भेटघाटका अवसरमा नेपालमा वैदेशिक लगानी भित्र्याउन अवलम्बन गरिनुपर्ने रणनीतिका सम्बन्धमा चर्चा गर्दै मन्त्री विष्टले यस विषयमा अमेरिकी सरकारबाट निरन्तर रुपमा सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे ।

राजदूत बेरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वैदेशिक लगानी प्रवर्द्धन, मानव वेचविखन नियन्त्रण लगायतका विषयमा सहयोग एवं सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको कुरा बताए । भेटघाटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालको समेत उपस्थिति रहेको थियो ।