
-मिना बुढाथोकी
सल्यान, १ मंसिर । सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । ६० बर्ष माथीका दलित र ७० बर्ष माथीका सबै जेष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाको कार्यक्रम अनुसार शनीबार खलंगामा सम्मान कार्यक्रमको आयोजना गरेर वडा भित्रका ७० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडाअध्यक्ष टोप बहादुर थापाले बताए ।
उनले सबै जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप ब्लांकेट एक थान र एक हर्लिक्स बितरण गरिएको बताए । ‘हामीले वडा भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यका साथ ब्लांकेट र हर्लिक्स बितरण गरेका छौँ, अशक्त, बिरामी जेष्ठ नागरिकहरुलाई घरमा नै गएर सम्मान स्वरुप ब्लांकेट र हर्लिक्स बितरण गरेका हौँ’ उनले भने ।
जेष्ठ नागरिक अनुभवका खानी भएको उनको भनाई छ । ‘जेष्ठ नागरिक अनुभवका खानी हुन्, उहाँहरु बाट हामीले सिक्नु पर्ने कुरा धेरै छ, उहाँहरुको निम्ती वडा कार्यालयले केही गर्न नसके पनि चिसो मौसम शुरु भएकाले ब्लांकेट बितरण गरेका छौँ, यसले चिसोमा उहाँहरुलाई केही राहत गर्ने छ’ उनले भने ।
नगरप्रमुख अधिकारीले नगरभित्रका जेष्ठ नागरिकहरुलाई नगरपालिकाले सम्मान गर्दै आएको बताए । कार्यक्रममा आन्तरिक लेखा परिक्षक चन्द्र प्रकाश शर्मा, जेष्ठ नागरिक मनोहर महर्जन लगायतले बोल्दै जेष्ठ नागरिकसंग रहेको सिप र दक्षतालाइ समाजले उपयोग गर्नुपर्नेमा जोड दिए ।












प्रतिक्रिया