२० कार्तिक २०८३, शुक्रबार

आमाको नामबाट नागरिकता पाउन रिट दायर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ३० कार्तिक । पोखरा महानगरपालिका– ९ बसपार्क बस्ने १७ वर्षिय रोशन गुरुङले आमा कन्याकुमारी गुरुङको नामबाट नागरिकता पाउँ भनि उच्च अदालतमा पोखरामा शुक्रबार रिट दायर गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को परार्मश र पहलमा गुरुङले जिल्ला प्रशासन कार्यालय कास्कीलाई प्रतिवादी बनाई रिट दायर गरेका हुन् ।

गुरुङले २०७४ कार्तिक १२ गते जिल्ला प्रशासन कार्यलय कास्कीमा बाबु वेपत्ता भएका कारण आमाको नामबाट नागरिकता पाउँ भनि निवेदन दिएका थिए । तर, तत्कालिन् प्रशासकीय अधिकृत गुरुदत्त ढकालले बाबुको नागरिकता नभएको भन्दै संघीय कानुन बमोजिम हुने हुँदा सोही बमोजिम निवेदकलाई जानकारी गराईदिनु भनि निवेदन फिर्ता पठाइदिएका थिए ।

‘म जस्ता आमाको नामबाट नागरिकता लिन चाहाने नेपाली नागरिकहरुले आफ्नै देशमा आफ्नो पहिचानको अधिकारबाट बञ्चित भई राज्यविहिन अवस्थामा बाँच्न बाध्य भएको हुनाले आफ्नो मौलिक हक तथा अधिकार प्रचलन गराउन सम्मानित अदालत समक्ष उपस्थित भएको छु’ रिटमा उल्लेख छ ।

नेपालको संविधानको धारा ११ उपधारा २ (ख) मा कुनै पनि व्यक्ति जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने स्पष्ट व्यवस्था रहेको छ भने नागरिकता ऐन २०६३ को दफा ३ को उपदफा १ मा कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्थाले बाबु वा आमालाई परिभाषित गरेको छ ।

‘मलाई सम्मानित अदालतको ढोका सम्म आउन इन्सेक नामक संस्थाले परामर्श दिई महत्वपूर्ण सहयोग गरेको व्यहोरा अवगत गराउन चाहान्छु’ दायर रिटमा लेखिएको छ । गुरुङको पक्षबाट अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता विष्णु प्रसाद लम्साल, अधिवक्ता कृष्ण कुमार श्रेष्ठ र अधिवक्ता पुकार भण्डारी बहस गर्नेछन् ।