शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुशी

दैनिक नेपाल २०७५ कार्तिक २९ गते १७:४३


-मिना बुढाथोकी

सल्यान, २९ कार्तिक । दार्मागाउँपालिका भित्र रहेका ६ वटा वडामा स्वास्थ्यको पहुँच विस्तार गर्ने काम सुरु भएको छ । जस अन्तरगत दार्मा गाउँपालिकाको ज्यामिरेचौरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ ।

गाउँपालिकाले विनियोजन गरको ५ लाख बजेटबाट भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष निमवहादुर केसीले बताए । गाउँपालिका भित्र रहेका ६ वटा वडामा स्वास्थ्यको पहुँच विस्तार गर्ने काम सुरु भएको बताउँदै अध्यक्ष केसीले जनतालाई पायक पर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारणलाई स्वास्थ्यको सेवा लिन सहज बनाउन यो वर्ष २ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको जानकारी दिए ।

भवन निर्माणका लागि स्थानीय डण्डविर कामीले २ रोपनी २ आना जग्गा निःशुल्क उपलब्ध गराएकोमा धन्यवाद दिदै अध्यक्ष केसीले यस वर्ष ईकाईमा कार्यरत कर्मचारीका लागि ४ लाख रकम छुट्याईएको बताए ।

गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीयले बाजागाजा र साँस्कृतिक कार्यक्रमसहित खुसियाली मनाएका छन् । गाउँमै स्वास्थ्य इकाई सञ्चालनमा आएपछि खुुसी भएको स्थानीय धनवहादुर विकले बताए ।

‘सामान्य स्वास्थ्य चेक जाँचका लागि समेत चार घण्टा सम्मको पैदल यात्रा गर्नु पर्ने बाध्यता थियो’ उनले भने, अब भने धेरै सहज हुने भयो ।’ सामान्य स्वास्थ्य चेक जाँचका लागि त्रिवेणी, भल्चौर, दार्माकोटमा रहेको स्वास्थ्य चौकी जानु पर्ने बाध्यता हटेकोले सजिलै आप्mनै गाउँठाउँमा उपचार पाईने भएकाले स्थानीयले गाउँपालिकाको प्रशंसा गर्न थालेका छन् ।

पूर्व सामान्य प्रशासन मन्त्रीद्दारा उद्घाटन

इकाईको बुधवार उद्घाटन गरिएको छ । नेकपा केन्द्रीय सदस्य तथा प्रतिनीधिसभा सदस्य टेकवहादुर बस्नेतले ईकाईको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै उनले जनताले स्वास्थ्य सेवा पाउने गरि संविधानमा मौलिक हकको रुपमा रहेको भन्दै मौलिक हक कार्यान्वयनका लागि ऐन नियम निर्माण भएको बताए ।

पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले विकास भनेको बाटो मात्र बनाउनु नभई मानविय विकासलाई पनि जोडेर लैजान संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताए । ‘जनताको सहभागिताले मात्र दिगो विकास सम्भव छ’, उनले भने, ‘सबै तहबाट हुने काममा जनतालाई सक्रिय सहभागी बनाउन लागि परेका छाैँ ।’

यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाहले गाउँमा भएका विकास निर्माणलाई जनताले दिगो रुपमा उपयोग र संरक्षण गर्नुपर्ने बताए । ‘निर्माण भएका साधान स्रोत उपयोगमा ध्यान दिऔ । दुर दराजका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन कर्णाली प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्छ’, उनले भने ।’

नेकपा केन्द्रीय सदस्य रहेका शाहले स्वास्थ्य क्षेत्रमा सचेतनाको कमिले रोगीहरुको संख्या बढ्दै गएकोले नेता कार्यकर्ता मार्फत जनचेतनामूलक कार्यक्रम अघि सार्नु पर्ने आवश्यकता आफूले महशुस गरको बताए ।

प्रतिक्रिया
सम्बन्धित