२१ कार्तिक २०८३, शनिबार

सामाजिक सञ्जालमार्फत शैक्षिक अभियानमा युवाहरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, २५ कार्तिक । पछिल्लो समय सूचना प्रविधि मानवको जीवनसँग गाँसिएर आएको छ । नङ र मासुको सम्बन्ध भएजस्तै अहिले सूचना प्रविधि र मानवको सम्बन्ध गाँसिएको छ । कहीँ कतै सूचना तथा संचार प्रविधिको गलत प्रयोगले कतिपय व्यक्तिहरु बिग्रिएको खबर पनि नसुनिएको होइन । तर, पछिल्लो समय सूचना प्रविधिको विकाससँगै मानवले निकै फड्को मारेको हाम्रो सामु छर्लङ्ग छ ।

यही सूचना प्रविधिको प्रयोग गर्दै सामाजिक संजालमार्फत केही युवाहरु सामाजिक कार्यमा जुटेका छन् । काठमाडौंमा रहेर अध्ययन गर्दै आएका देशका १७ जिल्लाका युवाहरु ‘राष्ट्र निर्माणमा युवा अभियान’ नामक सामाजिक सञ्जालमार्फत शैक्षिक संकलन र सहयोगमा जुटेका छन् ।

सामाजिक संजालमार्फत विभिन्न किसिमका शैक्षिक पुस्तक संकलन गरी रोल्पा, पर्वत, काठमाडौं लगायतका विभिन्न विद्यालयलाई सहयोग गरिसकेका युवाहरुले हालै कपिलवस्तुको एक विद्यालयलाई तीनसय थान पुस्तक सहयोग गरेका छन् ।

फेसबुक पेज ‘राष्ट्र निर्माणमा युवा अभियान’ मार्फत पुस्तक संकलन गरी जिल्लाको शिवराज नगरपालिका ७, पिपरीस्थित त्रिभुवन आदर्श माविलाई सहयोग गरेका हुन् । जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटा निवासी मिनप्रसाद खनालका छोरा कुशल खनालले विद्यालयमै पुगी पुस्तक हस्तान्तरण गरे ।

विद्यालयका प्रधानाध्यापक घनश्याम कुर्मी र विव्यस सदस्य भुवनेश्वर सिंहलाई आफूले विभिन्न जिल्लाबाट संकलन गरिएको तीनसय थान पुस्तक बुझाएको खनालले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई अध्ययन अध्यापनमा थप टेवा पु¥याउने उद्देश्यले सामाजिक संजालको माध्यमबाट विभिन्न किसिमका शैक्षिक पुस्तक संकलन गरिएको उनले बताए । पुस्तक हस्तान्तरण कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तुका शाखा सभापति विष्णुप्रसाद खतिवडा, समाजसेवी मिनप्रसाद खनाल, पत्रकारहरुको उपस्थिति थियो ।

विद्यालयलाई सहयोग गरिएका पुस्तकहरुमा कक्षा ५देखि १० सम्मका पाठ्यपुस्तक, ११ र १२ का व्यवस्थापन पक्षका पाठ्यपुस्तक, उपन्यास, कथा, निबन्ध, कविता तथा सूचना प्रविधिसम्बन्धीका पुस्तकहरु रहेको खनालले बताए । गरीब तथा विपन्न वर्गका बालबालिकाहरुको शिक्षालाई मध्यनजर गरी १७ जिल्लाका साथीहरु मिली यस किसिमको अभियान चलाएको उनले जनाए ।

पुस्तक वितरण कार्यक्रममा सहभागी मानवअधिकारकर्मी विष्णुप्रसाद खतिवडाले खनालको सह्रानीय कार्यप्रति प्रसंशा व्यक्त गर्दै विद्यालयमा अध्ययनरत गरीब, विपन्न विद्यार्थीहरुलाई यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । समाजसेवी मिनप्रसाद खनालले छोराको कामप्रति आफू निकै प्रभावित भएको बताउँदै समाजसेवामा आफू पनि सधैं छोरासँगै हातेमालो गर्दै अगाडि बढ्ने उद्घोष गरे ।

विद्यालयका प्रधानाध्यापक घनश्याम कुर्मीले विद्यालयलाई सहयोग पुर्‍याएकोमा सहयोगी निकायलाई धन्यबाद दिंदै आगामी दिनमा समेत यस किसिमको कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।