ओखलढुंगा, २१ कात्तिक । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ ।
आगो नियन्त्रण गर्ने क्रममा एकजना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । जितमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् ।
मंगलबार विहान ११ः३० बजे सुरु भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी राजीव श्रेष्ठले बताए ।
घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
आगोले ६० लाभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् ।
पीडितहरूलाई स्थानीय सरकार र सरोकारवाला निकायमा राहत दिलाउन पहल गरिने वडा अध्यक्ष उमेश कार्कीले बताए । बच्चाले आगो खेल्दा शुरु भएको आगलागीले चार परिवारका घर तथा गाइवस्तुका गोठ र पशु चौपाया मरेका हुन् ।












प्रतिक्रिया