काठमाडौं, ९ कात्तिक । विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोणका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन ।
मुआब्जा कम भएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले गत २० भदौमा फैसला गरे पनि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छैन । रेल विभागका प्रवक्ता विश्व केसीले जग्गा अधिग्रहण प्रक्रिया चाँडै सुरु गर्ने बताए ।
उनका अनुसार नेपालतर्फ रेलमार्ग र स्टेसन बनिसक्न अझै तीन वर्ष लाग्छ । तीन किमि रेलमार्ग बने पनि उत्तरतर्फ अझै १० किमि र कटहरीमा एक स्टेसन निर्माण हुन बाँकी छ ।
भारतको प्राविधिकसहित कुल तीन अर्ब ६३ करोड रुपैयाँ सहयोगमा रेल निर्माण थालिएको हो । रेलमार्गका लागि हालसम्म दुई अर्ब ३५ करोड खर्च भइसकेको भारतीय निर्माण कम्पनी इरकोणले जनाएको छ ।
भारतको बिहार राज्यको अररिया जिल्लाको बथनाह स्टेसनबाट विराटनगरको कटहरीसम्म साढे १८ किमि लामो रेलमार्ग बन्नेछ । समस्या नभएकाले निर्माण कम्पनीले भारततर्फको भेडियारीको लावाघाट र बथनाहमा स्टेसन पनि निर्माण गरिसकेको छ ।














प्रतिक्रिया