काठमाडौं, ७ कात्तिक । सत्तारुढ दल नेकपाले आन्तरिक एकता कमजोर हुँदा विपक्षीले फाइदा उठाएको निष्कर्ष निकालेको छ। नेकपा सचिवालयले छठसम्म तल्ला समितिको एकता टुंग्याउने पनि निधो गरेको छ।
माथिल्लो तहमा पार्टी एकता भएको ५ महिना बितिसक्दा समेत नेकपाका तल्ला समिति र जनसंगठन बेग्लाबेग्लै छन्। ‘हामीले एकता गर्न नसक्दा आन्तरिक कमजोरी भएको छ’, नेकपा सचिवालयका एक नेताले भने, ‘त्यही कमजोरीको फाइदा प्रतिपक्षले उठाएको छ।’ अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।
छठसम्म एकता सकेर मंसिरदेखि देशव्यापी अभियान चलाउने तयारी थालेको ती नेताले बताए। आन्तरिक पार्टी एकताको गृहकार्यका लागि बुधबार पनि नेकपा सचिवालय बैठक बस्दैछ। कात्तिक १२ र १३ गते उसले स्थायी समिति बैठक डाकेको छ।
‘पार्टी र सरकारविरुद्ध भइरहेको आक्रमणको प्रतिरक्षाका लागि स्थायी समिति बैठकपछि नयाँ अभियान सञ्चालनको योजना बनाउन लागेका छौं’, नेकपा सचिवालय नेता तथा गृहमन्त्री रामबहादुर थापाले भने, ‘प्रतिपक्षी र प्रतिगामी शक्ति मिलेर सरकार विघटन गर्ने र कम्युनिस्ट पार्टीमा विभाजन ल्याउन खोजेको राजनीतिक दृश्य देखा परेका छ। पार्टीले त्यसको प्रतिरोध गर्नेछ।’
प्रतिपक्षी कांग्रेस, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सिके राउतले कार्यगत एकता गरी सरकार विघटन गर्ने र नेकपामा विभाजन ल्याउने रणनीति अख्तियार गर्न खोजेको नेकपाले राजनीतिक निष्र्कष निकालेको छ। काठमाडौं–७ का सांसद रामवीर मानन्धरको राजीनामा प्रकरण, पार्टीभित्ररबाहिरबाट भइरहेको सरकारको आलोचनालाई उसले परिवर्तन उल्टाउने तयारीका रूपमा अथ्र्याएको हो।














प्रतिक्रिया