सुर्खेत, २८ असोज । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैँ खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर, प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरे ।
न्यौपानेका अनुसार अन्यत्रबाट सरुवा भई प्रदेशमा हाजिर गरिरहेका सबै कर्मचारीलाई तलब र दसैँभत्ताको रकम भुक्तानी भइसकेको छ । तर, अन्य प्रदेशमा दरबन्दी भई प्रदेश १ मा खटाइएका कर्मचारीलाई भने तलब भुक्तानीमा समस्या भइरहेको उनले बताए । सचिव न्यौपानेले भने, ‘तर, हामी उनीहरूलाई पनि तलब र दसैैँ खर्च उपलब्ध गराउन पहल गरिरहेका छौँ ।’
विभिन्न ११ कार्यालयका कर्मचारीले तलब नपाएका हुन् । सिँचाइ विकास डिभिजन, सहरी विकास तथा भवन निर्माण, प्रदेश संग्रहालय, भू तथा जलाधार व्यवस्थापन, महिला तथा बालबालिका, शिक्षा विकास निर्देशनालय, डिभिजन वन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषिज्ञान केन्द्र र जिल्ला प्राविधिक कार्यालयका कर्मचारीले तलब नपाएका हुन् ।
त्यसो त प्रदेश सरकारले सबै जिल्लामा कार्यालय स्थापना गरिसकेको छैन । त्यसकारण संघीय सरकारले तलब निकासा गर्न समस्या भएको स्रोतको भनाइ छ । प्रदेशमातहतका कार्यालयमा महालेखापरीक्षकको कार्यालयले लेखा अधिकृत र लेखापाल पनि पठाएको छैन ।















प्रतिक्रिया