शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यो हो सांसद पाल्देन गुरुङको स्याउको बगैचा

दैनिक नेपाल २०७५ असोज २६ गते ७:१४

मनाङ, २६ असोज । ङिस्याङ गाउँपालिका १ भ्राताङमा छ, स्याउ फार्म। चार वर्षअघि सांसद पोल्देन गुरुङले ६७ हजार बिरुवा रोपेका थिए। गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे। यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ । स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

इटाली र सर्बियाबाट ल्याइएका दुई प्रजातिका स्याउलाई ठिमाहा बनाइएको छ । वर्णसंकर भएकाले यी बिरुवा अरू जस्तो अग्ला र मोटा भने छैनन् । तिनले दुई वर्षदेखि फल दिइरहेका छन् । वयस्क भइसकेपछि भने प्रत्येक बोटमा कम्तीमा ३० देखि ३५ किलो फल्ने गुरुङको भनाइ छ। यसमा ५५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यहाँ फुजी, गाला र गोल्डेन प्रजातिका स्याउ छन् । यो परियोजनामा गुरुङको कम्पनी एग्रो मनाङ प्रालिले ३० करोड रुपैयाँ लगानी गरिसकेको छ । यसलाई उनी अझै बढाउने सोचमा छन् । उनले यससँगै होटल र कोल्डस्टोर सञ्चालनमा ल्याएका छन् ।

‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं’, उनले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौं। त्यसका लागि होटल पनि सँगै बनाएका छौं ।’ एग्रो फार्मले जुस, ड्राई एप्पल, ब्रान्डी र वाइनसमेत बनाउन थालेको छ ।

काठमाडौंको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सुरु गरेका गुरुङले नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बाट पनि सहयोग पाएका थिए ।

उनले अनुदान सहयोग मात्र २ करोड २४ लाख पाए । ‘अनुदानका लागि फार्म सुरु गरेको भने होइन । त्यसले प्रोत्साहन भने गरेको छ’, उनले प्रस्ट्याए, ‘अझै लगानी बढाउँदै जानेछौं। यसमा सरकारको साथ र सहयोग उत्तिकै अपेक्षा गर्छौं ।’

प्रतिक्रिया
सम्बन्धित