विराटनगर, १६ असोज । राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ ।
मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्नेरनगर्नेबारे सरकार, सांसद, दलका नेता, नागरिक समाज र उद्योगी व्यापारीबीच मतभेद भएको छ । यसअघि अस्थायी राजधानी तोक्ने वेलामा विभिन्न स्थानमा आन्दोलन भएको थियो ।
नाम र राजधानी टुंगो लगाउन चौतर्फी दबाब बढेपछि प्रदेश सरकारले चालू अधिवेशनभित्रै राजधानी टुंगो लगाउने प्रतिबद्धता जनाएबमोजिम छलफल तीव्र बनाएको छ । तर, मुख्यमन्त्रीको प्रस्तावमा ५ मध्ये ३ मन्त्रीले असहमति जनाएका छन् ।
स्रोतका अनुसार सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो र सामाजिक विकासमन्त्री जीवन घिमिरेले राजधानी विकेन्द्रित गर्ने मुख्यमन्त्रीको प्रस्ताव उपयुक्त नभएको तर्क गरेका छन् । सहमति नभए प्रदेश सभाको बहुमतबाट निर्णय गर्ने तयारी सरकारको छ ।
विराटनगरबाट राजधानी सार्ने वा संरचना विकेन्द्रित गर्ने विषय जबरजस्ती अगाडि बढाए प्रत्युत्पादक हुने चेतावनी प्रमुख प्रतिपक्षी कांग्रेसले दिएको छ ।
कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले १४ असोजको प्रदेश सभा बैठकमा विशेष समय लिएर भने, ‘विपक्षी दल र सरोकारवालासँग कुनै परामर्श नगरी राजधानीको नाममा सरकारले के पकाइरहेको छ, सदनलाई जस्ताको तस्तै जानकारी दिनुपर्छ ।’
बृहत विराटनगरका नाममा राजधानीका संरचना विकेन्द्रित गर्ने प्रयास प्रदेश र प्रदेशवासीको हितविपरीत हुने कांग्रेसका अर्का सांसद सूर्यमाराज राईको दाबी छ ।
राईले भने, ‘बहुमतको नाममा ह्विप लगाएर सरकारले चलखेल गरे प्रतिपक्ष टुलुटुलु हेरेर बस्नेछैन ।’ राजधानी र नामाकरण टुंग्याउन ढिला भइरहेको भन्दै कांग्रेस सांसदहरूले राजधानी छरपस्ट पार्ने प्रयास संघीयताको मर्म र भावनाविपरीत हुने जिकिर गर्दै आएका छन् ।
मोरङका सबै सांसद र नेता विराटनगरबाट राजधानी सार्न वा संरचना विकेन्द्रित गर्न नहुने पक्षमा छन् । मोरङ–५ बाट निर्वाचित सांसद शिवकुमार मण्डलले विराटनगरबाट राजधानी अन्यत्र सारिए सुरक्षा कमजोर हुने र संघीयता पनि दिगो नहुने जोखिम उच्च हुने बताए ।
मोरङ–४ बाट निर्वाचित सांसद अमनलाल मोदीले राजधानी अन्यत्र सार्दा वा संरचनाहरू विकेन्द्रित गर्दा झन् समस्या थपिने बताए ।















प्रतिक्रिया