काठमाडौं, १३ असोज । नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ । सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ ।
यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन् ।
‘पार्टीमा युवाहरूलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाब आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरूले संरक्षक र सहयोगी बनेर अरूलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन् ।’
जहाँ भोटर लिस्ट हुन्छ, त्यहीँबाट क्रियाशील हुने विषय केन्द्रीय नेताहरूका लागि पनि बाध्यकारी बनाउनुपर्ने सुझाब पनि कांग्रेस विधानमा आएको छ ।
साथै, केन्द्रीय सदस्य र सांसदहरूले पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै चुनिएर आउनुपर्ने, केन्द्रीय सदस्यमा लड्न पनि चुनिएर आउनुपर्ने सुझाब आएका छन् ।















प्रतिक्रिया