काठमाडौं, ८ असोज । नेकपाका एक नेताका अनुसार मूल नेतृत्वलाई निर्णायक घडीमा प्रभावित पार्न र आफूअनुकुल निर्णयमा तान्न गुट र समूह सबैभन्दा बढी सक्रिय हुन्छन् ।
प्रभावशाली नेतालाई मुख्यमन्त्रीमा रोक्न, क्षमतावान नेतालाई सरकार र संसदीय समिति सभापति चयन प्रक्रियामा रोक्न गुटहरू सक्रिय हुने गरेको नेताहरू नै बताउँछन् ।
प्रदेश पदाधिकारी चयनमा समेत पहिले बनाएको मापदण्ड लत्याउन शीर्ष नेताहरू नै गुटबन्दीमा उत्रिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
‘आत्मसुरक्षाका लागि गुटबन्दी गर्न खोज्नु र गर्नु राम्रो कुरा होइन । यो रद्दी काम हो,’ नेकपा नेता प्रदीप नेपाल भन्छन्, ‘गुटबन्दी गर्नु र गुटमा लाग्नु दलालीको काम हो। यसले पार्टी बनाउँदैन, भत्काउँछ ।’
तत्कालीन एमालेभित्रको गुटबन्दी संस्थागत थियो । पार्टी महाधिवशेनमै ओली–नेपाल दुई समूह बनेका थिए। अहिलेको गुटबन्दी भने महाधिवशेन लक्षित नभर सत्तासंर्घषमा शक्ति अभ्यासका लागि बनाइएको नेताहरू बताउँछन् ।
‘पार्टी सत्ता र बाहिरी सत्तामा आफ्ना मान्छेलाई शक्तिमा र लाभको पदमा पुर्याउन, आर्थिक लाभहानीमा हिस्सा लिन गुटवाद जन्मिरहेको छ,’ नेकपाका अर्का एक नेताले भने ।
पूर्वघटकभित्रका युवाको नयाँ प्रयत्न्न
नेकपाभित्रका युवा पुस्ताका नेता भने भिन्न समूहका रूपमा अगाडि बढ्न खोजेका देखिन्छन्।
युवाहरूको छुट्टै समूह बनाई रूपान्तरण प्रयत्न अगाडि बढाउन खोजेको उनीहरूले बताएका छन्। ‘व्यक्तिको धेरै आलोचना गरेर केही हुने देखिन्नँ, आलोचनाले नेतृत्व रूपान्तरण हुँदैन। जति जुध्छौं, आग्रह, पूर्वाग्रह हुन्छ,’ युवा पुस्ताका एक नेता भने, ‘पार्टीभित्रै युवा पुस्ताका नेता–कार्यकर्ताले भित्री तयारी गरेर ठूलो हस्तक्षेपी भूमिका खेल्नु आवश्यक छ। त्यसको प्रयत्न हुदैछ।’
यो अभियानमा नेताहरू घनश्याम भुसाल, योगेश भट्टराई, देवेन्द्र पौडेल, राम कार्की, ठाकुर गैरे, लेखनाथ न्यौपाने, हेमराज भण्डारीलगायत नेता जोडिँदै गरेको एक नेताले बताए ।















प्रतिक्रिया