काठमाडौं, ३ असोज । पप्पु कन्स्ट्रक्सनले बनाएको काठमाडौंको टेकु पुल प्राविधिकरूपमा कमजोर रहेको भन्दै सडक विभागले सञ्चालनमा रोक लगाएको छ । निर्माण कम्पनीले लापरबाही गरेर निर्माण गरेका कारण पुल कमजोर भएको सडक विभागले जानकारी दिएको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
कालिमाटी–टेकु जोड्ने ६२ मिटरको यो पुल हस्तान्तरण नभएको, पुलमा देखिएका प्राविधिक समस्या समाधान नगरी निर्माण अगाडि बढाएको र परामर्शतादाले दिएको सुझाव पालन नगरी पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाइएको सडक विभागले जानकारी दिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा दरबारमार्गलाई अघिल्लो शुक्रबार नै पत्र लेखेरै पुल सञ्चालन नगर्न अनुरोध गरिएको काठमाडौं सडक डिभिजन १ नम्बर कार्यालयका इन्जिनियर रामबहादुर गुरुङले अन्नपूर्णलाई जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा ठेक्का लगाएको यो पुलमा निर्माण कम्पनी पप्पुले जम्मा १३ करोड ९२ लाख रुपैयाँको मात्रै काम सकेको छ । यो पुल निर्माणको समय भने सन् २०१७ को डिसेम्बरमै सकिएको थियो । यो आयोजना चालू आर्थिक वर्षदेखि काठमाडौं डिभिजनै मर्ज भएको छ ।
दिगो सहरीले गत साउन ३२ गते नै पहिलो पत्र पठाएर यो पुल सञ्चालन नगर्न अनुरोध गरेको थियो । बिमस्टेक सम्मेलनमा सवारीको चाप मिलाउनुपर्ने भएकाले केही समय पुल खुला गरेको भए पनि फेरि अघिल्लो शुक्रबार पत्र पठाएरै पुल सञ्चालनमा नल्याउन आग्रह गरिएको काठमाडौं डिभिजनले जानकारी दिएको छ ।
दिगो सहरीले २०७१ को असारमा टेकु–डल्लु पुल बनाउने जिम्मा पप्पुलाई दिएको थियो । यो पुलको काम सकिएको भन्दै जानकारी पप्पुले सवारी चलाउन सकिने बताएको भए पनि आयोजनाले भने पुललाई निर्माण सम्पन्न नभएको भन्दै रोकेको हो ।
आयोजनका तत्कालीन इन्जिनियर लालबहादुर नेपालीका अनुसार पप्पुले बनाएको यो पुलमा तोकिएको मापदण्ड कायम नभएको उल्लेख छ । विभागले यो पुल बनाउँदा गुणस्तरको निर्माण सामग्री प्रयोग नगरेको, आयोजनाको निर्देशन अटेर गरेको, जानकारी र अनुमति बिना काम गरेको बताएको छ ।
पुल डिजाइन तथा निरीक्षण गर्ने परामर्शदाताको कुनै पनि आग्रह वा निर्देशन पालना नगर्दा पुल कमजोर भएको दाबीसहित दिगो सहरीले काठमाडौं डिभिजनलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको छ ।















प्रतिक्रिया