काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा उड्ने धुलो–धुवाँले मानव स्वास्थ्यमा हरेक दिन गम्भीर असर पार्दै गएको छ । अधिकारसम्पन्न महानगर भने धुलो–धुवाँ नियन्त्रण गर्न असफल देखिएका छन् ।
उपत्यकाको धुलो नियन्त्रण गर्न काठमाडौं महानगरपालिकासँग तीनवटा बु्रमर, पाँचवटा जेट र ललितपुर महानगरपालिकासँग एउटा बु्रुमर छ । काठमाडौं नगरपालिकासँग भएका ३ मध्ये २ ब्रुमर बिग्रिएर थन्क्याइएका छन् भने एउटा चालू अवस्थामै भए पनि धेरैजसो कार्यालयमै थन्किएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सडक पखाल्न ल्याएका पाँचवटा जेट २ महिनादेखि परीक्षणमै राखिएको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले बताए । ‘हामीले २ महिनाअघि रोड पखाल्न पाँचवटा जेट ल्याएका थियौँ, जसले रोड पखाल्ने र जमेको पानी पनि तान्ने काम गर्छ,’ कुँवरले भने, ‘तर, ती उपकरण अझै परीक्षणमै छन् ।’
कस्तो रोड पखाल्न मिल्छ, जमेको पानी कसरी निकाल्न सकिन्छ भन्ने परीक्षण चलिरहेको कुँवरले बताए । सडक विभागबाट ललितपुर महानगरले एउटा ब्रुमर ल्याए पनि कार्यालयमै थन्किएको छ । महानगरवासी धुलोको मारमा पर्दा वा पानी परेर हिलाम्य हुँदा पनि त्यो उपकरण महानगरले कार्यालयमै थन्क्याएर राख्ने गरेको छ ।
आधुनिक सहरहरूमा ब्रुमरलाई चिल्ला सडकमा रहेका स–साना धुलोका कण सफा गर्न प्रयोग गरिन्छ । उपत्यकामा ठूला खाल्डाखुल्डी, बाक्लो धुलो वा हिलो हुने भएकाले ब्रुमर चलाउन मुस्किल रहेको वातावरणविद्हरूको भनाइ छ । जबर्जस्ती चलाए बिग्रने उनीहरू बताउँछन् । उनीहरूका अनुसार चलाउने वातावरण नभएकैले काठमाडौं र ललितपुर महानगरपालिकाका ब्रुमर प्रायः कार्यालयमै थन्किएका हुन्छन् । तर, काठमाडौं र ललितपुर महानगरले थप ब्रुमर खरिद गर्ने तयारी गरेका छन् ।
काठमाडौं महानगरले पाँचवटा ब्रुमर खरिद गर्न टेन्डर गरिसकेको छ । आगामी ४ महिनाभित्र ब्रुमर काठमाडौं आउने महानगरको भनाइ छ । ललितपुर महानगरले एउटा ब्रुमर खरिद गर्न टेन्डर गर्ने तयारी गरेको छ ।
पूर्वाधार निर्माणका नाममा उपत्यकामा लगातार सडक खन्ने काम भएकाले धुलो र हिलो बढी भएको महानगरको भनाइ छ । ‘कहिले मेलम्चीको पाइप बिछ्याउँदा सडक खनिन्छ । कहिले केबलतार, कहिले बिजुलीका तार त कहिले फुटपाथ बनाउँदा सडक खन्ने गरिन्छ,’ कुँवरले भने, ‘एकपछि अर्को निकायले सडक भत्काउँदा हरेक वर्ष धुलो र हिलो बढेको बढ्यै छ ।’ एक निकायले अर्को निकायसँग समन्वय नगरी निरन्तर सडक खन्दा तथा चोभार, साँगा र थानकोटबाट धुलो र धुवाँ भित्रँदा पनि उपत्यकामा प्रदूषण बढेको वातावरणविद्हरूको भनाइ छ ।
साना–ठूला गाडीको धुवाँ मापन गरी कम धुवाँ फाल्ने गाडीलाई हरियो र बढी फाल्नेलाई रातो स्टिकर दिने व्यवस्था छ । धुवाँ मापन यन्त्र राजधानीका एकान्तकुना, स्वयम्भू र टेकुमा राखिएका छन् । उपत्यकाबाहिरका यातायात कार्यालयमा पनि धुवाँ मापन गर्ने उपकरण राख्ने गरिएको छ । तर, वर्षको एकपटक हरियो स्टिकर लगाएपछि त्यस्ता गाडीको दोहो(याएर जाँच हुँदैन । त्यस्ता गाडीले जतिसुकै धुवाँ फाले पनि कारबाही गर्ने व्यवस्था छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गत क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनले धुलो–धुवाँबाट अल्पकालीन र दीर्घकालीन समस्या निम्तिने बताए । प्रदूषणले तत्कालीन समस्यामा आँखा चिलाउने, पोल्ने, आँखाको एलर्जी हुने छालामा एलर्जी हुने पुनको भनाइ छ । दीर्घकालीन रूपमा भने फोक्सोमा समस्या हुँदा दमका बिरामी बढ्ने र कतिपय बिरामीलाई क्यान्सर पनि हुन सक्ने उनले बताए ।
काठमाडौं महानगरले इटालीबाट १० करोड ८ लाख २४ हजार रूपैयाँमा पाँचवटा ब्रुमर ल्याउने भएको छ । ‘अहिलेका ब्रुमर चाइनिज भएकाले धेरै धुलो वा हिलो भएको क्षेत्रमा चलाउन अप्ठ्यारो भइरहेको छ,’ महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘प्रभावकारी हुने भएकाले इटालियन ब्रुमर ल्याउन लागिएको हो ।’ इटालियन ब्रुमर ल्याएपछि धुलो नियन्त्रण गरिने उनले दाबी गरे । नयाँ ब्रुमर आएपछि धुलो पूरै नहटे पनि नियन्त्रण हुने उनले बताए ।















प्रतिक्रिया