११ कार्तिक २०८३, बुधबार

ट्याक्सीको ठगी रोक्न उपत्यकामा अभियान

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । उपत्यकामा ट्याक्सीको ठगी रोक्न ट्राफिक प्रहरीले आक्रामक योजना अघि बढाएको छ । ठगी गर्ने चालकलाई कारबाही गर्न सादा पोसाकमा दैनिक एक सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

महाशाखाले २१ भदौदेखि अभियान सुरु गरेको हो ।पाँच सय चालक कारबाहीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले थालेको अभियानमा सोमबारसम्म ४ सय ९६ चालक कारबाहीमा परिसकेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यो अवधिमा बढी भाडा लिने २ सय ८८ चालकलाई कारबाही गरिएको छ । यात्रुले भनेको ठाउँमा जान नमान्ने १ सय ९६, र मिटर बिगारेर चलाउने १३ जना ट्याक्सीचालकलाई पनि कारबाही गरिएको महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । ‘ट्याक्सी ठगीको उजुरी अत्यधिक आएपछि यो अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘दैनिक ५० भन्दा बढी ट्याक्सी कारबाहीमा परेका छन् ।’

अभियानअन्तर्गत प्रहरी ग्राहक बनेर जाने गर्छन् । मिटरमा जान नमानेमा सादा पोसाकका प्रहरीले चालकलाई नियन्त्रणमा लिन्छन् । जानै नमान्ने तथा मिटर बिगार्नेहरूलाई पनि नियन्त्रणमा लिएर कारबाही हुने गरेको छ । यस्तो कारबाही विवादरहित होस् भनेर सादा पोसाकमा खटिने प्रहरीले गोप्य रूपमा भिडियो रेकर्डसमेत गर्छन् । रातिको समयमा पनि कारबाही हुँदै आएको महाशाखाले जनाएको छ । उपत्यकामा करिब १३ हजार ट्याक्सी छन् । धेरैजसो मिटरमा चल्न नमान्ने गरेको उजुरी महाशाखामा पर्ने गरेको छ ।

ट्याक्सीचालकलाई अनुशासित बनाउन महाशाखाले ‘ड्रेस कोड’ अभियान चलाएको छ । सबै ट्याक्सीचालकले भदौभित्र पहेँलो रङको ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम बनाइएको थियो । तर, आधाजसो चालकले पनि ड्रेस लगाएका छैनन् । त्यस्तै, ट्याक्सीको छतमा पहेँलो रङ लगाउनुपर्ने, ट्याक्सीभित्र यात्रुले देख्ने गरी नम्बरप्लेट राख्नुपर्ने अभियान पनि चलिरहेको महाशाखाले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरी ट्राफिक महाशाखाले उपत्यकाका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । यो वर्ष आगामी शुक्रबारदेखि दसैँका लागि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्दै छ । त्यसैले यात्रुहरूको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको महाशाखाको भनाइ छ ।