११ कार्तिक २०८३, बुधबार

बाँकेमा पनि वामदेवका लागि बाटो बन्द, रोकाले राजीनामा नदिने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । नेकपाका नेता बामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने भनेका बाँके –३ का सांसद नन्दलाल रोका क्षेत्रीले राजीनामा नदिने बताएका छन् ।

‘बामदेव कमरेडसँग यस विषयमा मेरो कुनै कुरा भएको छैन । पार्टीका अरुकसैसँग पनि कुरा भएको छैन ।’ सांसद रोकाले भने,‘ मसँग कसैले राजीनामा मागेको पनि छैन, कसैले मागेर राजीनामा पनि दिन्न ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आफूले राजीनामा दिन लागेको भनेर चलाइएको हल्ला निराधार रहेको उनले बताए । उनले थपे ,‘मैले राजीनामा दिँदैछु भनेर चलाइएको हल्ला मैले पनि सुने, तर यो वाइयात कुरा हो ।’

बामदेव पछिल्लो समय उपनिर्वाचनमार्फत सांसद बन्ने ध्याउन्नमा छन् । उनले पूर्वी रुकुममा पनि छलफल अगाडि बढाएका थिए । तर, त्यहाँकी सांसद कमला रोक्काले पूर्वी रुकुमबाट कुनै हालतमा राजीनामा नदिने बताएपछि गौतम पछि हटेका थिए ।

त्यतिबेला सांसद रोक्काले बामदेवले पूर्वी रुकुममा आउनु भनेको ‘तातो खरानीमा खुट्टा हाल्नु सरह’ भएको प्रतिक्रिया दिएकी थिइन् । रोक्काले बामदेवलाई जनमत स्विकारेर जनताको पक्षमा काम गर्न सुझाएकी पनि थिइन् ।

यस्तै रोका क्षेत्री र कमला रोक्काले राजीनामा नदिने भएपछि बामदेवका लागि सांसद हुने बाटो सो क्षेत्रबाट बन्द भएको थियो । यसअघि डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिने भनिएपनि अन्तिम समयमा आएर नदिने घोषणा गरेका थिए ।

पर्यटन राज्यमन्त्रीसमेत रहेका बुढालाई प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका थिए । यस्तै बुढाकै निर्वाचन क्षेत्रका मतदाताले पनि राजीनामा दिए निर्वाचन नै बहिस्कार गर्ने चेतावनी पनि दिएका थिए ।