
काठमाडौं, २ असोज । आफ्नै विद्यार्थीलाई फेसबुकमा अश्लील सामग्री पठाएर यातना दिएको आरोपमा ललितपुरको खुलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का एक वरिष्ठ भेटेरिनरी डाक्टर पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आफ्नो गोप्य अंगको भिडियो तथा फोटो बनाएर एक छात्रालाई पठाएको आरोपमा प्रहरीले ५५ वर्षीय डा.मेघराज तिवारीलाई पक्राउ गरेको हो । डा.तिवारी नार्कमा पशु आहार महाशाखामा मुख्य वैज्ञानिकका रूपमा कार्यरत छन् । काठमाडौंको कलंकीस्थित हिमालयन कलेज अफ एग्रिकल्चर, साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट)का शिक्षक रहेका तिवारीले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको तथा अश्लील सामग्री पठाएको आरोप छ ।
छात्राको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । डा. तिवारीलाई ७ दिनको म्याद थप गराएर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको छ । महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले उजुरीमाथि अनुसन्धान भइरहेको बताए । ‘अश्लील फोटो र भिडियो छात्रालाई पठाएको उजुरीपछि उनलाई ७ दिनअघि पक्राउ गरिएको हो,’ एसपी उप्रेतीले भने ।
डा.तिवारीबाट पीडित भनिएकी युवती विक्षिप्त अवस्थामा रहेको प्रहरीले जनाएको छ । कलेज पढ्न छाडेर गृहजिल्ला मोरङ पुगेकी उनी बाहिरी मान्छे देख्नेबित्तिकै डराउने अवस्था रहेकी र मानसिक रूपमा बिरामी देखिएकीले उनको उपचार भइरहेको प्रहरीको भनाइ छ ।
सो मुद्दामा उनको ‘स्टेटमेन्ट’ लिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा प्रहरी खटिएको थियो । तर, उनी बिरामी भएकाले कुराकानी गर्न नसकिएको मोरङका एसपी मनोजकुमार केसीले बताए ।
युवतीले आफूलाई डा.तिवारीले यौन दुव्र्यवहारसमेत गरेको दाबी गरे पनि जाहेरी भने विद्युतीय कारोबार ऐनअन्तर्गत मात्र परेको छ । तिवारीले मदिरा सेवन गरेका वेला एकपटक आफूले छात्रालाई अश्लील म्यासेज पठाएको स्वीकार गरेका छन् । तर, यौन दुर्व्यवहार गरेको आरोप भने उनले अस्वीकार गरेका छन् ।
प्रहरी स्रोतका अनुसार घटनामा छात्राको पनि बदनियत देखिएको छ । डा.तिवारीले अश्लील फोटो र भिडियो पठाउनुअघि छात्राले पटक–पटक डा. तिवारीलाई अश्लील सामग्री पठाउने गरेको अनुसन्धानमा पाइएको छ । ‘पहिले छात्राले नै तिवारीलाई पटक–पटक आफ्ना गोप्य अंगको फोटो र भिडियो पठाएको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि तिवारीले पनि अश्लील सामग्री पठाएपछि त्यसलाई आधार बनाएर युवतीले उजुरी दिएको देखिन्छ ।’















प्रतिक्रिया