काठमाडौं, २ असोज । मात्रिका यादव, लालबाबु पण्डितको मन्त्रालयमा परेका कर्मचारी कस्ता होलान् ? मन्त्रीले भनेको नमाने के होला हविगत ? त्यहाँमाथि यति बलियो सरकारका मन्त्रीले भनेको नमान्ने कर्मचारी कहाँ पुग्लान् ? तर खानेपानी मन्त्रालय भने त्यसको ठीक उल्टो छ । जनप्रहार साप्ताहिलके समाचार छापेको छ ।
अझ, बिना मगर विभागीय मन्त्री भएको मन्त्रालयमा न काम ठिक चलेको छ न कर्मचारी नै थितिमा छन् । अझ, खानेपानी तथा सरसफाई विभागका सहसचिव तेजराज भट्ट जसले महानिर्देशक (डिजी)को जिम्मा पाएका छन् उनले त मन्त्री पनि लाचार बनाउने गरेका छन् ।
मन्त्री गएको कार्यक्रममा पुग्ने, ठिक्क पार्ने र मन्त्रीबाट दूर हुनासाथ उनैको खिसिट्युरी गर्ने डिजीमा पर्छन् तेजराज । भ्रष्टाचारको गति पनि उनको नाम जस्तै तेज छ । मन्त्रीलाई थाहा भएर के हुन्छ ? मन्त्रीभन्दा उपल्ला तहका नेता बोकेर उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्म पुग्छन् ।
शक्ति केन्द्रलाई रिझाउने साम, दाम र दण्डभेद नै जानेका तेजराजको अहिलेका ताकत भने लेखराज भट्ट हुन् । सुदूर पश्चिमको नाममा लेखराजलाई नतमस्तक बनाउने तेजराज कांग्रेसका खाँटी कार्यकर्ता हुन् । कतिसम्म भने उनी कांग्रेसलाई चुनावमा सघाउन विदा मागेर कैलालीसम्म पुगेका थिए ।
जिल्लाका डिभिजन इन्जिनियरसँग कमिशनमात्र माग्ने तेजराजलाई खुमलटारले बोक्नुको कारण पनि लेखराज भट्ट नै हुन् । भट्टले खानेपानी विभागबाट उनलाई नहटाउने सिफारिसमात्र होइन, व्यक्ति नै लिएर खुमलटारको बैठक कक्ष छिरेका थिए ।
शेरबहादुर देउवाको पालामा विभागको महानिर्देशकको जागिर अझ कसिलो बनाएका तेजराजले सरकार परिवर्तन भए पनि आफु परिवर्तन नहुने अठोट राखी कर्मचारी चिढ्याउने मात्र होइन, जिल्ला–जिल्लाका डिभिजन हाकीमलाई घुसको दायित्व नै बोकाएका थिए । कुसुन्तीको घरमा बोलाएर यसरी पैसा माग गरिएको भन्दै कतिपय डिभिजन इन्जिनियरले गुनासो समेत पोख्ने गरेका छन् । ‘यो डिजीले हत्तु पा-यो, न आम्दानी छ कसरी दिनु पैसा ?’ भन्दै आफुले चिनेका नेता र हाकिमलाई गुनासो गर्ने कर्मचारी पनि कम छैनन् ।
प्रतिनिधि तथा प्रदेश सभा चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई चुनाव खर्च नै बोकेर धनगडीको यात्रामा पुगेका तेजराजले पदबाट नहट्नका लागि खानेपानी मन्त्री बिना मगरका ससुरा प्रचण्डकै सोर्स लगाएको प्रस्ट छ । किनभने लेखराज भट्टले खुमलटारमा तेजराजलाई पुराएर प्रचण्डसँग भेट गराएका थिए । खुमलटार स्रोतका अनुसार अहिले पनि बेलामौका तेजराज खुमलटारमा अनुहार देखाउन पुग्छन् ।
विभागमा बसेर दुई पैसाको काम गर्न नसक्ने तेजराजले प्रचण्डलाई त्यसबेला चिनेका हुन् जुनबेला प्रेमबहादुर सिंह खानेपानी मन्त्री थिए । मेलम्ची परियोजनाको कार्यकारी निर्देशक हुँदा काम गर्न नसकी खुमलटारकै दबाबमा सरूवा भई विभागमा डिजी हुन आएका थिए, तेजराज । अर्बौं बजेट चलाउनका लागि करोडौं खर्च गर्न तयार तेजराज मेलम्ची परियोजनामा बसुन्जेल एक इन्च पनि काम अघि बढेको थिएन ।
सरकारी गाडीलाई पनि निजी नम्बरप्लेट बनाएर चढ्ने गरेका उनले केही समयअघि मात्र गाडीमा सरकारी नम्बर प्लेट ठोकेका थिए । उनले विभागीय मन्त्रीलाई यति लाचार देखेका छन् कि कांग्रेसनिकटका कर्मचारी बोलाएर भन्ने गरेका छन्,‘ससुरा नै दाहिने छन् बुहारीको के जोर चल्छ ?’ उनको यो भनाईअनुरूप मन्त्री बिना मगर पनि लाचार देखिएकी छन् । उनले आफु अनुकुलताको कामका लागि सचिव फेरे पनि एउटा डिजीलाई परिवर्तन गर्न सकिनन् । खानेपानी विभागमा लामो अवधिसम्म निरन्तर डिजी भएर बस्ने तेजराज एक्ला सहसचिव हुन् ।















प्रतिक्रिया