११ कार्तिक २०८३, बुधबार

बिनाको राजनीति मेलम्चीको पानी ! आउँछ भन्दाभन्दै कार्यकाल सकिने डर

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी, खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई सस्तो लोकप्रियतामा रमाउने रहरले डुबाएको छ ।

मन्त्री नियुक्ति हुनासाथ मेलम्चीको पानीले डुबाउने घोषणा गरेकी उनले पानी खुवाउनुको साटो उपत्यकावासीलाई दशैंमा लोप्पाचाहीँ खुवाएकी छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

मेलम्चीले अरूलाई होइन, बिनाकै घोषणालाई डुबाएको छ । सर्वसाधारण भन्छन्– जुन जोगी आए पनि कानै चिरेको । ‘अरूले ल्याउन नसकेको चिज बिनाले किन ल्याउँथिन् र ? भर छैन’, उपत्यकावासी अञ्जन शर्मा भन्छन्,‘यस्ता घोषणा धेरै सुनियो ।’

युवा भएकै कारण मगरले बोलेपछि काम गर्छिन् भन्ने अपेक्षालाई उनको महत्वकांक्षाले तुहाएको हो । मन्त्रालयमा काम गर्न नसक्ने, निर्णयलाई कार्यान्वयनका लागि दबाब दिन नसक्ने मगरलाई पूर्वमाओवादीका सुदूरपश्चिमका नेता लेखराज भट्ट, सल्लाहकारहरूले घुमाइरहेका छन् । जसका कारण खानेपानी मन्त्रालयको काममा कुनै प्रभावकारिता पनि छैन ।

मन्त्रिपरिषद्मा कान्छी भएकाले होइन, प्रचण्डकी बुहारी भएकाले उनले बोलेका कुरा पुरा नभए पनि छुट जस्तै छ । नेकपाका एक नेताले भने,‘दबदबा त शक्तिकेन्द्रका आफन्तको नै हुन्छ ।’

मन्त्री मगरले पानी ल्याउनका लागि बारम्बार सम्बन्धित निकायलाई निर्देशन नदिएको पनि होइन । तर काम नगर्ने अकर्मण्यहरूको नेतृत्वमा परेका कारण हतारमा बोल्नु फुर्सदमा पोल्नु भएको छ ।

आगामी दसैंसम्म पनि उपत्यकावासीका धारामा मेलम्चीको पानी आउने सम्भावना छैन । उपआयोजनाले लक्ष्यअनुसार सुरूङको भुइँ ढलान र अन्य प्राविधिक काम सकेको छैन ।

आयोजनाका अनुसार ठेकेदार कम्पनी इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसीले हेडवक्रसको निर्माण सुरूङको भुइप्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा लगायतका काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

त्यसो त मन्त्री मगर मेलम्ची तिर भन्दा पनि आफ्नै प्रशासनका कर्मचारी, सचिव सरूवालगायतका काममा बढी सक्रिय भइन् । ठाउँ–ठाउँमा पुगेर पानी सरसफाईका नवीनतम् भाषण दिए पनि प्रशासनमा लाइन मिलाउने कर्मचारीलाई राख्ने उनको गति अलिक बढी भएको उच्च स्रोतले जनायो ।

मेलम्ची खानेपानी उपआयोजनाका अनुसार अहिलेसम्म १६ किलोमिटर सुुरूङको भुइँढलान भए पनि अन्य साढे ११ किलोमिटर सुरूङको भुइँ ढलान गर्न बाँकी नै छ । त्यतिमात्रै होइन, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसिटिभी क्यामेरा जडान, सुरूङको प्राविधिक जाँच लगायतका काममा पनि बिनाका सचिवालयका मान्छेले हस्तक्षेप गरेका छन् । जसका कारण काम हुन नसकेको हो ।

मेलम्चीको पानी सुन्दरीजलमा खसेको खण्डमा भने उपत्यकामा पानी साता दिनभित्रै जनताको घर–घरमा वितरण गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले त्यसको लागि सबै काम सम्पन्न गरेको दाबी गरेको छ ।

त्यहाँका एक विशिष्ट कर्मचारीका अनुसार राजनीतिक दलको दबाब र उपल्ला तहका कर्मचारीको हस्तक्षेपका कारणले काम चाँडो हुन नसकेको हो । ‘कामको अवधि नहेरी फ्याट्ट बोलिदिने चलनले हामीलाई पनि तनावमा पारेको छ त्यहाँमाथि मन्त्रीका अनेक मान्छेका दबाब र महत्वकांक्षाले पनि सताएको छ’, उच्च स्रोतले भन्यो ।

निर्देशनालयका अनुसार बिछ्याइएको पाइपमा लिकेज तथा प्रेसर परीक्षणको काम भइराखेको छ । निर्देशनालयले पहिलेको योजनाअनुसार उपत्यकामा वितरण सञ्जालको लागि ६ सय ७० किलोमिटर र थोक वितरण प्रणालीअन्तर्गत ७७ किलोमिटर पाइप ओछ्याइसकेको छ ।

तर लामो समयदेखि आकाशको फल आँखातरी मर भन्ने उखानजस्तो बनेको मेलम्चीमा बिनाको जोरचाहीँ चलेको छैन । सर्वसाधारण भन्छन्,‘यो दशैंमा होइन, अर्को दशैंमा पनि पानी पिउन पाइन्छ की पाइँदैन ।’