
काठमाडौं, २२ साउन । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका–६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार तिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा गई बलात्कार गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
वृत्त प्रमुख डिएसपी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । ‘हरि तिमल्सिनालाई पक्राउ गरिएको छ । उनी प्रहरी हिरासतमा छन् । अनुसन्धान हुँदै छ । उनलाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको हो,’ उनले भने ।
राति बालिका अस्वाभाविक रूपमा चिच्याएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । प्रहरी तत्काल घटनास्थल पुगेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानबाट बालिका बलात्कृत भएको खुलेपछि तिमल्सिनालाई प्रहरीले तत्काल हिरासतमा लिएको थियो । प्रहरीले तिमल्सिनाविरुद्ध पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार तिमल्सिना र उनकी श्रीमतीबीच सम्बन्ध सुमधुर छैन । ‘घटना सम्बन्धमा हामीले अनुसन्धान गरिरहेका छौँ । प्रारम्भिक अनुसन्धान हेर्दा तिमल्सिना दम्पतीबीच पारिवारिक सम्बन्ध त्यति सुमधुर नभएको देखिन्छ । यद्यपि, हामीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
तिमल्सिनालाई पक्राउ गरेपछि बालिकालाई उपचारका लागि थापाथलीस्थित प्रसूतिगृह लगिएको थियो । प्रसूतिगृहबाट बालिका बलात्कृत भएको रिपोर्ट आएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका सुस्त मनस्थितिको रहेको प्रहरीले जानकारी दिएको छ ।
गोकर्णेश्वर–६ का वडाध्यक्ष रमेश अर्यालले बालिका बलात्कृत भएको मेडिकल रिपोर्ट आएको बताए । ‘बालिकामाथि बलात्कार भएको मैले पनि सुनेँ । के रहेछ भनेर बुझ्ने कोसिस गरेँ । बालिकाको उपचार गर्न थापाथलीस्थित प्रसूतिगृह लगिएको रहेछ । चेकजाँचपछि बालिका बलात्कृत भएको मेडिकल रिपोर्ट आयो भन्ने मैले सुनेको छु,’ उनले भने ।














प्रतिक्रिया