
अछाम, २० साउन । अछामको रामारोशन गाउँपालिकाले कैलासखोलामा अबैध माछा मार्ने कार्यलाई प्रतिबन्ध लगाएको छ । गाउँपालिकाको समिक्षा बैठकले गाउँपालिकाको क्षेत्र अन्तर्गत कैलाश खोला र आसपासका खोलामा अबैध माछा मार्ने कार्यलाई प्रतिबन्ध लगाउने निर्णय भएको छ ।
यस्तै यसपछि माछा मार्ने कार्यलाई व्यवसायिक रुपमा अघि बढाईने र यसका लागि माछा मार्ने ब्याक्तिले नगरपालिकामा जाल दर्ता गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झंकर साउँदले बताए ।
खोलामा अबैध रुपमा करेन्ट लगाई तथा विभिन्न बिषादीको समेत प्रयोग हुने गरेको गुनासो आएको भन्दै यसको तत्काल अनुगमन गरी रोकथाम गरिने उनको भनाई छ । बिषादी तथा करेन्ट लगाएर माछा मार्ने कार्यले साना ठुला सबै माछा मर्ने तथा अन्य जलचर प्राणी समेत मर्ने भई वातावरणमा प्रतिकुल असर पर्ने भएकाले यसको प्रतिबन्ध लगाईएको नगरपालिकाले जनाएको छ ।
यसअघि जिल्लाको मंगलसैन नगरपालिकाले पनि आफ्नो क्षेत्रमा पर्ने नदी क्षेत्रमा अबैध माछा मार्ने कार्यलाई प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । खोलामा अबैध रुपमा बिष हालेर, करेण्ट लगायर माछा मार्ने नपाईने र त्यस्तो कार्य गर्ने गराउनेलाई कानुन अनुसार कारबाही गरिने रामारोशन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष केश बहादुर बटालाले जानकारी दिए ।












प्रतिक्रिया