१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीलाई श्री ३ को उपाधि कसले दियो यसरी ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ साउन । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान सरकार राणाकालीन श्री ३ जस्तो भएको बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टीले गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै राणाले भने, ‘म मोहनशमशेरको नाति दाबाका साथ भन्छु यो देशमा बल्ल श्री ३ आयो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गठन भएको पाँच महिनामै सरकारले असली तानाशाही रूप देखाएको उनले टिप्पणी गरे । कम्युनिस्टको सर्वसत्तावाद र निरंकुश कार्यशैली रोक्न पार्टीले एक्लै र प्रजातान्त्रिक शक्तिसँग मिलेर आन्दोलन गर्ने उनले जनाए । सरकारले न्यायालयमाथि हस्तक्षेप बढाएर अधिनायकवाद लाद्न खोजेको उनको आरोप छ ।

जनतालाई समृद्धिको सपना देखाएर भोट बटुलेको सरकार जनमतविरुद्ध लागेको दाबी गर्दै उनले भने, ‘हामी सरकार फेर्न सडकमा आएका होइनौँ । यही रबैया रह्यो भने जग हल्लिन सक्छ । हामी त्यो ढंगले अघि बढ्छौँ ।’

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दीपक बोहराले संवैधानिक र लोकतान्त्रिक मान्यता, राष्ट्रियता र जनजीविकाका सबालमा राप्रपा प्रजातान्त्रिकले निरन्तर खबरदारी गर्ने बताए ।

अर्का वरिष्ठ उपाध्यक्ष केशरबहादुर विष्टले वामपन्थी सरकारले जनतालाई सपनाको महल मात्रै बाँडेको आरोप लगाए ।

विरोध कार्यक्रममा सहमहामन्त्री जगत गौचन, केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख सुरेन्द्र केसीलगायतले सरकारको गलत कार्य शैलीविरुद्ध खरो रूपमा सडकमा उत्रने बताए ।

बिजुलीबजारबाट सुरु भएको विरोध प्रदर्शन माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।