काठमाडौं, १७ साउन । काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ ।
संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर, जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए ।
‘हामीले पानी उत्पादन गर्ने थाहा पाएर कर्मचारी सञ्चय कोषले माग गरेको छ, छिटै सप्लाई गर्दै छौँ,’ प्रसादले भने । उनका अनुसार संस्थानको पनौतीस्थित प्लान्टबाट दैनिक पाँच सय जार पानी उत्पादन गर्न सकिन्छ ।
बजारमा अन्य कम्पनीले उपलब्ध गराएकोभन्दा सुरक्षित र गुणस्तरीय भएकाले आफूहरूको पानीको माग बढी भएको महाप्रबन्धक प्रसादले दाबी गरे । ‘माग त धेरै छ, तर मागअनुसार उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।’
संस्थानका मिनरल वाटर आयोजना प्रमुख मोहनदत्त भट्ट पानीको गुणस्तरमा निकै सावधानी अपनाएको बताउँछन् । ‘बजारमा उपलब्ध अधिकांश जारको पानीमा हानिकारक जीवाणु फेला पर्दै गर्दा हाम्रो उत्पादनमा त्यस्तो केही छैन,’ उनले भने ।














प्रतिक्रिया