१२ कार्तिक २०८३, बिहिबार

हराएको ३० वर्षपछि दाहसंस्कार

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पु-याएर पितृ संस्कार गरेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भने, ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’

चण्डिकाभन्दा सानी १ बहिनी र ३ भार्इ छन् । कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उनी बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान गएका थिए ।

नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उनी नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बसेका थिए । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारी जाने भनेकोमा उनी अहिलेसम्म भेटिएका छैनन् । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउँछन् ।

‘यहाँ खोज्न बाँकी छ भन्ने नै भएन, फिदिमसम्म नै खोज्यौं, भेटिएन’, गंगाप्रसाद भने, ‘बुबाको निधनपछि दुःखले नै परिवार चल्यो, एकातिर पारिवारिक चिन्ता अर्कातिर घरधन्दा चलाउन समस्या ।’

२०४५ साल जेठ १४ गते हो धान्यप्रसाद बेपत्ता हुनुभएको । जेठ १४ लाई नै आधार मानेर यसपछिका सबै संस्कार गर्ने निर्णय भएको उनहरूको भनाइ छ । अघिल्लो मंगलबार १५ दिनको मासे सकिएको छ । ४ छोराले सेतो पोशाक लाएका छन् ।

आफन्त, साथीभाइ र छरछिमेकीहरुले आएर समवेदनाका शव्दहरु प्रकट गरिसकेका छन् । पुरानै फोटो भए पनि बाहिर राखेर पुष्पगुच्छाले दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो । ३० वर्षअघिको घटना भएकाले धेरैले धान्यप्रसादको हिजोको दिनको सामाजिक काम र त्यतिबेलाको इतिहास समेत बिर्सिए ।

माना चामल पनि ल्याइयो, गरुड पुराण भनेर यस्तै रहेछ मृत्युको पींडा भन्दै एकआपसमा दुःख साटियो । मलमासका कारण असार १७ गते तिथि परेको थियो तर फेरि जुठो परेकाले केही ढिलो गरी पितृ कार्य सकियो ।

काठमाडौंको वाल्मीकि क्याम्पसका धर्मशास्त्र विभागका प्रमुख प्रा।डा।देवमणि भट्टराई धेरै वर्षसम्म मानिस नभेटिएपछि कामकाज गर्न सकिने बताउँछन् ।