काठमाडौं, ९ साउन । भक्तपुर जिल्ला अदालतको फैसलाबाट ३५ वर्ष कैद सजाय भुक्तान गरिरहेका सिरियल किलर अभिषेक जेलमै बसी करोडौँ रुपैयाँ कमाउन चाहन्थे ।
उनले यसमा सबै विकल्पबारे सोचे । जग्गाभन्दा अरू कारोबार उपयुक्त ठहरिएन । सुनसरीमा उनको पुरानो चिनजान थियो । त्यसमध्ये पनि एक जग्गा व्यापारीसँग उनको खास सम्बन्ध थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अभिषेक उनैको नाम प्रयोग गरी तराईको भित्री भागमा जग्गा खरिद गर्न चाहन्थे । जग्गाको कित्ता नम्बरलाई राजमार्गआसपास देखाएर बैंकबाट ऋण पनि उनैको नामबाट झिक्न चाहन्थे ।
त्यसबापत निश्चित कमिसन व्यापारीबाट लिने र लगत्तै हत्या गर्ने उनको योजना थियो । यसमा उनी बिल्कुल नयाँ तरिका प्रयोग गर्न चाहन्थे । जसका लागि उनलाई खास सहयोगी आवश्यक थियो ।
निकै महिनाको मन्थनपछि उनले मनोजकुमार चौरसिया र धु्रवकृष्ण शर्मा फेला पारे । त्यसमध्ये चौरसिया बैंकिङ कसुर मुद्दामा पाँचवर्षे कैद सजाय भोग्दै थिए । शर्मा भने चोरी मुद्दामा ४५ दिनको कैद सजाय भोग्दै थिए ।
अभिषेकले आफ्नो योजना चौरसिया र शर्मालाई सुनाए । मनग्ये पैसा आउने भएपछि उनीहरू पनि राजी भए । उनीहरूले जडीबुटीबाट निर्मित विष नै उपयुक्त देखे ।
यस्तो विष बनाउने तरिका अभिषेकलाई थाहा थियो, उनी वैद्यसमेत थिए । शर्मा जेलबाट छुटेलगत्तै विष बनाउन आवश्यक जडीबुटी ल्याउन अभिषेकले भने । शर्माले त्यसै गरे । विष बन्यो । र, भक्तबहादुर सुनारमाथि परीक्षण गरियो ।
खानामा मिसाएर दिइयो विष
प्रहरीका अनुसार सबैजना जेलभित्रै खाना खान लाइनमा बसे । यही क्रममा सुनारको खानामा गोप्य रूपमा विष मिसाइयो । खाना खाएको केहीबेरमै सुनारले बान्ता गरे । एकाएक ब्लड प्रेसर लो भयो र ज्वरो आयो ।
उनलाई वीर अस्पताल लगियो । उनको अवस्था झन् बिग्रन थालेपछि आइसियुमा राख्नुपर्ने देखियो । तर, वीरमा आइसियुको बेड खाली थिएन । उनलाई थप उपचारका लागि पाटन अस्पताल लगियो । यही क्रममा उनको मृत्यु भयो ।














प्रतिक्रिया