
काठमाडौँ, २९ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरीयाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरीयाले अमेरीका र दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे ।
उनले देशभक्तिको लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरे । गृहमन्त्री थापाले उत्तर कोरीयाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु ईच्छुक रहेको बताए ।
राजदूत हकले नेपाल र उत्तरकोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिए । उनले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटीलो हुँदा समस्या रहेको बताए ।
जवाफमा गृहमन्त्री थापाले प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने बताए । राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गईरहेको आफूहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरीया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गरे ।












प्रतिक्रिया