
भैरहवा, असार २४ । प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले सडक सुरक्षाका लागि राजमार्गका मुख्य मुख्य चोकमा सिसिटिभी जडान गरी प्रदेश नं. ५ लाई सुरक्षित बनाउने योजना रहेको बताएका छन् ।
आइतबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघ भैरहवाको नवनिर्मित भवन अवलोकन गर्ने क्रममा डिआइजी बस्नेतले सडक सुरक्षाका लागि नयाँ योजना ल्याएको बताएका हुन् ।
लुम्बिनी ट्रक यातायात व्यवसायी सञ्चालन गर्न दर्ता गर्दा पश्चिमाञ्चल ट्रक व्यवसायी समितिले एकाधिकार बजार बनाउन खोज्दा भैरहवा क्षेत्रका ट्रक व्यवसायीले खोलाबाट ढुङ्गा बोक्नु पर्ने स्थिति रहेकोले आफू एसएसपी हुँदा प्रशासनिक सहयोग गरी प्रतिष्पर्धात्मक रुपमा गाडी सञ्चालनमा ल्याएको र अहिले संस्थाले आफ्नै भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
अन्य व्यवसायीमा सिन्डिकेट लागू भएता पनि ट्रक व्यवसायीमा त्यस्तो नभएकोले पारदर्शी काम गर्न आँखा चिम्लेर गरे पनि हुने बताउँदै सच्चा कामका लागि प्रहरी प्रशासन सहयोग गर्न तयार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी श्यामलाल ज्ञवालीले बताए ।
वि.सं. २०६७ सालमा २४ ओटा ट्रक दर्ता गरी सञ्चालन गर्दा प्रहरी प्रशासनले अतुलनीय सहयोग गरेकोले लुम्बिनी ट्रक व्यवसायी संघ अहिलेको अवस्थामा आइपुगेकोले अहिलेको राज्यको नीतिलाई पनि व्यवसायीले आत्मसाथ गर्दै जाने संघका अध्यक्ष बिष्णु खरेलले बताए ।
साना गाडी ट्रकमा आएर ठोकिँदा प्रशासनले ठूलो गाडी भन्दै ट्रकलाई दोषी देख्दा व्यवसायी मर्कामा परेकोले दुर्घटनामा को दोषी हो भन्ने कुरा छु्ट्याएर मात्रै कारवाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनलाई अध्यक्ष खरेलले आग्रह गरे ।












प्रतिक्रिया