
काठमाडौँ, २४ असार । पत्रकार तथा साहित्यकार यशोदा अधिकारीले लैंगिक समानताको पक्षमा एकल कविता वाचन गरेकी छन् ।
सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा आयोजना गरिने एकल कविता वाचन कार्यक्रम अन्तरगत राष्ट्रिय नाचघरमा आयोजित ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा अधिकारीले महिला समानताका पक्षका एक दर्जन कविता वाचन गरेकी हुन् ।
उनले पुरुषसरह महिलाले गर्ने कामको सम्मान नभएको, लैंगिक विभेद हट्न नसकेको, महिलाले आत्मसम्मानसहित स्वतन्त्रतापूर्वक बाँच्न नपाएको लगायत समसामयिक विषयमा कविता वाचन गरिन् ।
कार्यक्रममा जङ्ग पहाडी, मीना श्रेष्ठ, तारा केसी, श्याम रिमाल र रविराज बसौलाले पनि कवि यशोदाका कविता वाचन गरेका थिए । प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यशोदाका कविताको प्रशंसा गर्दै कविता समाज परिवर्तनको संवाहक भएको बताए । उनले कवि तथा पत्रकार यशोदाले समाजका यावत पक्षलाई कवितामार्फत उटान गरेको बताए ।
प्राज्ञ नर्मदेश्वरी सत्यालले यशोदाका कवितामा समाजका यथार्थ विषय वस्तु समेटिएको भन्दै निरन्तर कलम चलाउन हौसला दिइन् ।
साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, सांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई र सांसद खेम नेपालीले अधिकारीका कविताले समाज रुपान्तरणमा टेवा पुग्ने बताए ।
पत्रकार तथा कवि यशोदाका हालसम्म ‘निषेधविरुद्ध’ र ‘अस्वीकार’ कवितासंग्रह , ‘संसार हल्लाउने संघर्षशील महिलाहरु’ जीवनी संग्रह, ‘क ख गीत’ बाल कवितासंग्रह र ‘जुरेली र मयुर’ बालकथा संग्रह प्रकाशित छन् ।
यस्तै उनले विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुमा समसामयिक र लैंगिक समानताको पक्षमा कलम चलाउँदै आएकी छन्












प्रतिक्रिया