काठमाडौं, २० असार । अन्य मुलुकबाट भारतको बाटो हुँदै आउने नेपालीलाई भारतले भिसा प्रक्रिया अनिवार्य गरेपछि पाकिस्तानमा बसेर अध्ययन तथा व्यापार–व्यवसाय गर्ने नेपाली मर्कामा परेका छन् ।
भारत सरकारको पछिल्लो नीति अनुसार भारतीय अध्यागमन विभागले बिना जानकारी भिसा प्रक्रिया कार्यान्वयनमा ल्याएपछि नेपाली नागरिकहरु थप सास्ती व्यहोर्न बाध्य भएका हुन् ।
भारतीय भिसा प्रक्रियाबारे इस्लामावादमा रहेको नेपाली तथा भारतीय दूतावाससमेत बेखबर छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सडक मार्ग भएर आउने एक मात्र ‘वाघा वोर्डर’मा भारतीय अध्यागमनले हालै बिना सूचना भारत प्रवेशको भिसा मागेपछि आफू निकै अप्ठेरोमा परेको कोएटामा बसेर चिकित्साशास्त्र पढिरहेका नेपाली विद्यार्थी राजेन्द्र फुलाराले बताए ।
फुलाराले नयाँ पत्रिकासँग भने, ‘पाकिस्तानमा मेरो भिसाको म्याद सकिन एक दिन मात्रै बाँकी थियो । म बाघा बोर्डर हुँदै घर जाँदै थिए । तर भारतको अध्यागमन विभागले मसँग भिसा मागेपछि म निकै अप्ठेरोमा परे । त्यसपछि मैले नेपाली दूतावासमा सम्पर्क गरे । दुतावासका कर्मचारीले कुनै सहयोग गर्न नसक्ने बताए ।’
नेपाल र पाकिस्तानबीच सोझो हवाई सेवा नहुँदा पाकिस्तामा रहेर अध्ययन र व्यवसाय गर्दै गरेका नेपालीहरु भारतीय भूमि हुँदै नेपाल आउने गरेका छन् ।
जानकारहरुका अनुसार अन्य मुलुकबाट नेपाल आउँदा भारत प्रवेशमा भिसा लाग्ने प्रक्रियालाई नेपालको परराष्ट्र मन्त्रालयले गम्भिरताकासाथ भारतीय पक्षसँग छलफल नगर्दा समस्या झनै गहिरिँदै गएको छ ।














प्रतिक्रिया