१२ कार्तिक २०८३, बिहिबार

श्रमिकको न्यूनतम ज्याला १५ हजार पुर्‍याउने तयारी

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १९ असार । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्‍याउने तयारी गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सहमति जुट्ने सम्भावना न्यून हुँदै गएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक पाँच हजार तीन सय रुपैयाँ बढाउने गृहकार्य सुरु गरेको हो ।

हाल आधारभूत तलब र भत्तासमेत गरी न्यूनतम पारिश्रमिक नौ हजार सात सय रुपैयाँ छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सरकार, निजी क्षेत्र र श्रमिकका प्रतिनिधि छन् । समितिमा विगत एक महिनायता सहमति जुटाउने प्रयास भइरहेको छ । हालसम्म समितिमा नौ चरणसम्मको छलफल सकिँदासमेत सहमतिको कुनै संकेत देखिएको छैन ।

सहमतिबाटै न्यूनतम पारिश्रमिक निर्धारण हुनुपर्नेमा श्रमिक र रोजगारदाता दुवै पक्ष रहेको भए पनि सहमतिको सम्भावना भने खासै नदेखिएको छलफलमा सहभागी एक सरकारी अधिकारीले बताए ।

न्यूनतम पारिश्रमिक कति बढाउने भन्नेमा मजदुर र रोजगारदाताबीच ठूलो अन्तर देखिएको हो । ‘श्रमिक न्यूनतम पारिश्रमिक २० हजार रुपैयाँ बनाउनुपर्ने आफ्नो मतमा अडिग छन्,’ ती अधिकारीले भने, ‘तर, रोजगारदाता पक्ष भने १२ हजार हाराहारीभन्दा माथि लैजान नहुने पक्षमा छन् ।’

सरकारले नै निर्णय लिनुपर्ने अवस्थामा भने १५ हजार रुपैयाँ हाराहारी कायम गर्ने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।