२१ कार्तिक २०८३, शनिबार

जनताका आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्नुस् : मन्त्री ज्वाला

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १७ असार । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनताका आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आईतबार सल्यानको छत्रेश्वरी गाउँपालिकाको दोस्रो बजेट अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चुनावको समयमा गरेका कुराहरुलाई भन्दा पनि जनताका आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्न सुझाव दिए । ‘चुनावको समयमा गरेका वाचाहरुलाई प्राथामिकता दिनु भन्दा पनि जनताका आवश्यकतालाई प्राथामिकता दिएर काम गर्नुहोस, अझै चार बर्ष स्थानीय सरकार चलाउने जिम्मेवारी तपाईहरुको काँधमा आएको छ’, उनले भने ।

उनले अबको समय भनेको विकास र समृद्धिको समय भएको बताए । ‘यो समय विकास र समृद्धिको समय हो, विकास निर्माण गर्दा भेदभाव, आफ्नो पराई कहिल्यै नछुट्याउनुहोस, यो बेला विकास निर्माणका काममा राजनीति गर्ने समय होईन’, उनले भने ।

सल्यान प्रदेश सभा ख का सदस्य समेत रहेका मन्त्री ज्वालाले विकास निर्माणका लागि बजेट कम भयो भन्दा पनि भएको बजेटलाई सहि तरिकाले प्रयोग गर्न आग्रह गरे । उनले प्राथामिकताका आधारमा योजना छनोट गरेर काम गर्न पनि आग्रह गरे ।

‘यहाँका महत्वपूर्ण र ठूला योजनाहरु छनोट गरेर प्रदेश सरकारमा पठाउनुहोस, ती योजनाहरुको क्रमागत रुपमा विकास हुन्छ’, ज्वालाले भने । उनले सल्यानको विकासका लागी आफू लागि परेको पनि बताए ।