२१ कार्तिक २०८३, शनिबार

पहिरोको डरले चौध परिवार विस्थापित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बागलुङ, १६ असार । जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् ।

विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो ।

जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठाउँतिर लागेका हुन् । ‘घरगोठ पनि चर्किएर बस्न नमिल्ने बनेका छन्,’–वडा अध्यक्ष कँडेलले भन्नुभयो ।

खेती गर्ने जग्गा पनि धाँजा फाटेपछि गाउँलेहरु पीडामा छन् । लत्ताकपडा, खाद्यान्न, पशु चौपायासहित घर छोडेका विस्थापित राहत र पुनःस्थापनाको पर्खाइमा छन् । तत्कालका लागि अस्थायी बास बनाएर उनीहरुलाई राख्ने तयारीमा गाउँपालिका छ । ‘घर छोडेर हिँड्नुपर्ने अवस्था भयो’ –विस्थापित सुमित्रा परियारले भन्नुभयो ।

सुरक्षित ठाउँमा जग्गा खोजेर पुनःस्थापना गर्नुपर्ने विस्थापितको माग छ । ‘तत्काललाई काठ र जस्तापाताबाट बन्ने अस्थायी संरचनामा व्यवस्थापन गर्छौ’– वडा अध्यक्ष कँडेलले भन्नुभयो, –‘दीर्घकालीन पुनःवासको लागि समय लाग्छ ।’

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खेरल नेतृत्वको टोलीले शुक्रबार घटनास्थलको निरीक्षणपछि विस्थापित परिवारलाई भेटेरै राहत रकम बाँडेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् प्रतिपरिवार रु १० हजारका दरले राहत रकम वितरण गरिएको हो ।

यस्तै, नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा बागलुङको तर्फबाट एक÷एक थान त्रिपाल प्रदान गरिएको छ । वडा कार्यालयले पनि खाद्यान्न सहयोयस्वरुप प्रतिपरिवार एक बोरा चामल उपलब्ध गराएको जनाइएको छ । थप राहत र पुनःस्थापनाको लागि सहयोग जुटाउने काम शुरु भएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले बताउनुभयो । ‘पुर्नस्थापनाको लागि सबै पक्षसँग मिलेर योजना बनाउँछौँ’–अध्यक्ष थापाले भन्नुभयो ।

निरन्तर जमिन भासिदै जाँदा तल्लो काउलेमा रहेको वस्ती र मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत जोखिममा पर्ने खतरा छ । गाउँपालिकाले जोखिमयुक्त ठाउँमा हिँडडुल नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ ।

गत मंगलबारदेखि परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरोका घटना निम्ताएको छ । पहिरोले जिल्लाको पश्चिम गलकोट र दक्षिण भेगमा बढी क्षति पुर्याइएको छ । -रासस