
देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी निरंकुश शासनविरुद्ध ०३६ सालमा विद्यार्थीले बृहत् आन्दोलन सुरु गरे । त्यही आन्दोलनबाट राजनीतिमा होमिए हालका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना । लक्ष्य थियो– निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्ने । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।
राजतन्त्रको अन्त्य गरी स्वतन्त्रता र बहुदलीय प्रजातन्त्रसहितको समतामूलक शासन व्यवस्थाको स्थापना गर्ने । अझ त्यसभन्दा पर साम्यवादमा पुग्ने लक्ष्यसहितको समाजवादको स्थापना गर्ने । चुनौती थियो– भूमिगतमै राजनीतिक दल तथा संगठनमा आमनेपालीलाई संगठित गर्दै लैजानु । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा सक्रिय हुँदै गर्दा भोलि आफू कहाँ पुग्छु भन्ने उनले कहिल्यै सोचेनन् । राजनीतिक भविष्य वा पदमा आसिन हुने कुरा उनको मनमै उब्जिएन । न त उनले कुनै सपना नै देखेका थिए, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय सभाको पहिलो अध्यक्षजस्तो गरिमामय पदमा पुगौँला भन्ने ।
म र गुरुङलाई लगेकै जेलमा तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई राखिएको थियो । त्यसताका जेलमा अधिकांश कांग्रेसका नेता थिए । पोखरा जेलमा केपी ओलीले हामीलाई स्वागत गर्नुभयो । कांग्रेसका नेताहरूबाट केपी ओली हेपाइ(डोमिनेसन)मा थिए । कांग्रेसका राजबन्दीले उहाँलाई हेप्ने किसिमका व्यवहार गर्थे । कांग्रेसका नेताहरूबीच कुरा हुन्थ्यो । उनीहरूलाई भेट्न अनेक मानिस आउँथे । तर, केपीसँग मिल्ने, गफ गर्ने र भेट्ने कमै हुन्थे, जसले उनलाई न्यास्रो पनि लागेको हुनुपर्छ । मलगायका नेताको पोखरा जेल आगमनले केपीलाई पनि जेलमा साथीभाइ मिल्यो ।
केपी १२ वर्षअघिदेखि जेलमा थिए ।
हामी भर्खर जेल परेका थियौँ । विद्यार्थी नेता जेल परेको भन्दै आफन्त र साथी भेट्न आउँथे । जेल परेको लामो समय र केपीको जिल्ला नभएकाले केपीलाई भेट्न जाने मानिस कम हुन्थे । अनेरास्ववियुका विद्यार्थीको आगमनपछि ओलीलाई न्यास्रो केही कम भएजस्तो लाग्यो । झापा विद्रोहपछि पक्राउ परेका केपी ओलीलाई पञ्चायती सरकारले गोलघरमा राख्ने, चरम यातना दिने गरेको थियो । यसले गर्दा ओली दुब्लो पातलो र अत्यन्तै कमजोर थिए । बाहिर रोग नदेखिए पनि कमजोर थिए । खाना कम खान्थे । अध्ययन गरिरहन्थे । राति सुत्दा उनको खुट्टै तात्दैनथ्यो, चीसो भइरहन्थ्यो ।
सामन्तवादको अन्त्यका लागि आफूहरूले झापा आन्दोलन गरेको, तर केही व्यक्ति मारिएकोमा दुःख लागेको केपी बताउँथे । विचार, संगठनले वैध तरिकाले आन्दोलन गर्न पाएसम्म हतियार उठाउनु हुँदैन भन्ने उनको बुझाइ थियो । जेलमा बस्दा ओली हरेक कुरामा उत्कृष्ट थिए । चेस खेलमा कसैले जित्न सक्दैनथ्यो । क्यारेम्बोर्डमा मलाई देब्रे हातले नै हराउँथे । रमाइलो गर्थे । स्नातक पढ्ने विद्यार्थीलाई जेलभित्रै अंग्रेजी पठाउँथे । नेकपा मसालका नेता वाचस्पति देवकोटाबीच निकै ठूलो बहस हुने गथ्र्यो । ओलीसँगको त्यही तार्किक बहसकै कारण जेलबाट छुटेपछि प्रखर नेता देवकोटा एमालेमा आउने वातावरण बनेको थियो ।














प्रतिक्रिया