कञ्चनपुर, १० असार । जिल्लामा हुलाकी सडक आयोजनाको निर्माण कार्य सुस्त छ । विवाद र ठेकेदार कम्पनीको लापरबाहीले कामले गति लिन सकेको छैन ।
डोकेबजारदेखि बेलौरी र बेल्डाँडी हुँदै दैजीसम्मको ६४ किलोमिटर सडक निर्माणको म्याद आगामी फागुनमा सकिँदै छ । अहिलेसम्म झन्डै २५/३० प्रतिशत हाराहारी मात्रै काम भएको छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
उक्त सडकको ३ वटा प्याकेजमा ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । तर, अहिलेकै गतिमा काम हुने हो भने समयमै सम्पन्न हुने छाँट देखिँदैन ।
‘केही ठाउँमा विवाद हुँदा निर्माण कम्पनीले काम गर्न सकेन,’ हुलाकी आयोजना प्रमुख मनीषकुमार शाहले भने, ‘स्थानीयले जमिन छाड्न नमान्दा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा केही समस्या देखिए । अहिले ती समस्या समाधान भएका छन् ।’
उनले निर्माण कम्पनीलाई पटक–पटक पत्र लेखेर कामको गति बढाउन सचेत गराइएको जानकारी दिए । पहिलो प्याकेजअन्तर्गत डोकेबजारदेखि बेलौरीसम्म २० किलोमिटर सडक निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग ३३ करोड २ लाखमा सम्झौता भएको थियो ।
सोही कम्पनीसँग बेल्डाडीदेखि दैजीसम्मको २४ किलोमिटर ३४ करोड १६ लाखमा सम्झौता भएको थियो ।
यस्तै दोस्रो प्याकेजअन्तर्गत बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सिद्धि शाही निर्माण कम्पनीसँग ४३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो ।
‘पहिलो प्याकेजमा ३०, दोस्रोमा ५० र तेस्रोमा १५ प्रतिशत मात्र काम सकिएको छ,’ आयोजना प्रमुख शाहले भने, ‘अहिलेकै गतिमा काम भए आउँदो फागुनसम्म सकिँदैन, त्यही भएर गति बढाउन पटक–पटक मौखिक र लिखित रूपमा ताकेता गरेका छौं ।’














प्रतिक्रिया