१२ कार्तिक २०८३, बिहिबार

काल बन्दै ट्रिपर

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । चाँगुनारायण–३ का २६ वर्षीय राकेश खाइजू शुक्रबार बा. ८२ प ८४७३ को स्कुटर चढेर कमल विनायकबाट ब्यासीतर्फ आउँदै थिए ।

पछाडि आउँदै गरेको बा.१ क ३५५९ को ट्रिपरले स्कुटरलाई ठक्कर दियो । उनी स्कुटरबाट उछिट्टिएर सडकमा पछारिए । उपचारका लागि नजिकैको इवामुरा अस्पताल त लगियो तर, बाँचेनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

३० जेठमा जडिबुटीमा बनेपाकी २४ वर्षीय अस्मिता भण्डारी चढेको बा. ७० प ९३९९ नम्बरको स्कुटरलाई बा.४ ख ३५५८ नम्बरको ट्रिपरले ठक्कर दियो । भण्डारी स्कुटरबाट सडकमा पछारिइन् । उपचारका लागि बी एन्ड बी अस्पताल पु-याइयो । तर, उनी पनि बाँचिनन् ।

९ जेठमा काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.३ख. ६६७४ नम्बरको ट्रिपरले बा. ५६ प.१२२७ नम्बरको स्कुटरलाई ठक्कर दियो ।

स्कुटरमा सवार दोलखाको मेलुङ–६ का ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरे सडकमै पछारिए । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लग्नै पाइएन । घटनास्थलमै मृत्यु भयो ।

यी त महिना दिनयता ट्रिपरको ठक्करले ज्यान गुमाएका केही प्रतिनिधि दुर्घटना मात्रै हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार, ट्रिपरबाट मात्रै उपत्यकाभित्र दैनिक चारवटा दुर्घटना हुन्छन् । उपत्यकाभित्र हुने सडक दुर्घटनाको यो झन्डै १४ प्रतिशत हो । उपत्यकाभित्र प्रत्येक दिन २८ वटा सडक दुर्घटना हुने गरेका छन् ।

महाशाखाको तथ्यांकअनुसार, सवारी दुर्घटनाका कारण तीन वर्षमा उपत्यकाभित्र मात्रै पाँच सय १६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटरमा सवार हुनेहरू छन् ।

तीन वर्षको तथ्यांक हेर्दा मोटरसाइकल र स्कुटरमा सवार हुने दुई सय ४८ जनाले ज्यान गुमाएका छन् । एक सय ९७ पैदलयात्रीले यो अवधिमा सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । त्यस्तै, ट्रिपरमा सवार १५, साइकलमा सवार १५, बसमा सवार २२, माइक्रोका दुई, टेम्पोका चार र कारका १३ जनाको मृत्यु भएको छ ।