बझाङ, ९ असार । ‘अब किराको जमाना पनि गएजस्तो छ । दुई महिना किरा (यार्सा) टिपेर वर्षभरि मोज गर्न पाइहालिन्छ भनेर खेतीपाती लाउन छाडें । खेत पनि बाँझो भयो, किरा पनि सकियो,’ साविक काँडा गाविस (हाल साइपाल गाउँपालिका) का पूर्वअध्यक्ष गोपाल बोहराले बझाङ सदरमुकाम, चैनपुरमा अनौपचारिक कुराकानीका क्रममा चिन्ता व्यक्त गरे । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
यो चिन्ताले उनलाई मात्र हैन, बझाङको उत्तरी भेगमा बसोबास गर्ने आधा जनसंख्यालाई पिरोल्न थालेको छ । कुनै बेला भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भनेर चिनिएका जिल्लाका उत्तरवर्ती गाउँहरूमा यार्साको उत्पादन बर्सेनि घट्न थालेपछि संकलकहरूको जीवनशैलीमा केही वर्षयता व्यापक फेरबदल आउन थालेको छ ।
जीवनबुटीका नामले प्रख्यात बहुमूल्य जडिबुटी यार्सागुम्बु उत्पादनमा प्रत्येक वर्ष गिरावट आउन थालेपछि यार्साकै कारण नयाँ जीवन पाएका बझाङका विकट गाउँका धेरै बासिन्दा आफ्नो भविष्यबारे चिन्तित देखिन्छन् । सुर्मा गाउँपालिकाका गणेश बोहराको संयुक्त परिवारमा १७ जना छन् ।
६/७ वर्षअघि उनको आर्थिक अवस्थाले खान–लाउनै मुस्किल थियो । आर्थिक विपन्नता यतिसम्म थियो कि स्कुलको शुल्क तिर्न नसकेर उनका ६ मध्ये ५ भाइले प्राथमिक तहमै विद्यालय छोड्नुपर्यो । यार्साको व्यापार हुन थालेपछि भने एकाएक उनको आर्थिक अवस्थामा चमत्कार भयो ।
गणेशले यार्साकै कमाइबाट सदरमुकाम चैनपुरमा घडेरी जोडे, अनि घर बनाए । गाउँको पुरानो झुपडी भत्काएर पक्की घर ठड्याए । ‘नपुग्दो भन्ने केही थिएन । जति धेरै मान्छे, उति धेरै पैसा,’ उनले यार्साको कमाइ हुने बाटो बताउँदै भने, ‘ठूलो परिवार भएकाले कुनै वर्ष त यार्सा टिपेर २० लाख रुपैयाँसम्म कमायौं । खान–लाउन छेलोखेलो हुन्थ्यो । बचेको रकमले घर बनाइयो ।’
२/३ वर्षयता गणेशको सिंगो परिवारले वर्षमा मुस्किलले ३/४ लाखको यार्सा टिप्छ । मनमौजी खर्च गर्ने बानी लागेको यो परिवारलाई अहिलेको कमाइले खान–लाउनै समस्या हुन थालेको छ । कुनै बेला ठूलो परिवार भएकोमा गर्व गर्ने उनलाई अहिले त्यही घाँडो बनेको छ । भन्छन्, ‘खाने मुख मात्र धेरै भए, आम्दानी छैन ।’ यार्सा टिप्ने लोभमा परिवार संख्यामा नियन्त्रण नगर्ने गाउँका धेरै व्यक्ति अहिले पछुतोमा रहेको उनले सुनाए ।















प्रतिक्रिया