काठमाडौं, १८ असोज । प्रमुख प्रतिपक्षी एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससंगको सत्ता गठबन्धनबाट भने नअलगिने बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह ३ बजे बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुलाई सरकार परिवर्तन नगर्नेमा आश्वस्त पारेका हुन् ।
एमाले र माओवादी केन्द्र चुनावी तालमेलसंगै सरकार परिवर्तनको चर्चा चल्न थालेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कांग्रेस नेताहरुले भने नयाँ सरकार गठनका लागि आवश्यक संख्या नपुगेकै कारण यस्तो आश्वासन आएको हुन सक्ने भन्दै माओवादी केन्द्र अध्यक्ष दाहालको धारणाबाट विस्वस्त हुन सकेका छैनन् ।
दाहालसंगको भेटपछि प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले थापा र यादवसित सरकारको समर्थन र चुनावी तालमेलको बिषयमा छलफल गरेको स्रोतले बतायो ।
दाहालले देउवालाई नवमीका दिन नै आफ्नो पार्टीले एमालेसित चुनावी तालमेलको कुरा अघि बढेको संकेत दिएका थिए । देउवाले भने माओवादी केन्द्रलाई एमालेसित चुनावी तालमेल गर्नबाट रोक्न कुनै पहल नगरेको स्रोतले उल्लेख गरेको छ ।
स्रोतका अनुसार दाहालले देउवासित एमालेले आफ्नो पार्टीलाई प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ५० प्रतिशत सिट दिन लागेको जानकारी गराउँदै कांग्रेस कति दिन तयार छ भनेर सोधेका थिए । देउवाले दाहाललाई कुनै आश्वासन दिएनन् ।
प्रधानमन्त्री देउवासहित करिब आधा दर्जन कांग्रेस नेताहरुसँग माओवादी अध्यक्ष दाहालले एमालेसंगको तालमेल भए पनि सरकार नबदल्ने र यही सरकारबाट निर्वाचन गराउने धारणा राखेको जानकारी बैठकमा सहभागी कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले दिए ।
दाहालले कांग्रेस नेताहरुसंग करिव ४५ मिनेट कुराकानी गरेर निस्केका थिए । उनले मंगलबार विहान पनि प्रधानमन्त्री देउवासंग छुट्टै भेटेका थिए । बिहानको भेटमा एमालेसंग तालमेलको निर्णय लिइसकिएको जानकारी गराई विस्तृत कुराकानी दिउसो ३ बजे गर्ने भन्दै निस्केका थिए ।
दिउसोको भेटमा प्रधानमन्त्री देउवाका अतिरिक्त काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, बिमलेन्द्र निधि, अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की, पूर्व सहमहामन्त्री पूर्णबहादुर खडा, केन्द्रीय सदस्य महेश आचार्य, प्रकाशशरण महत, केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायत थिए ।
एक्लै बालुवाटार पुगेका दाहालले सुरुमै कांग्रेससंग कुनै असन्तुष्टी र गुनासोको कारण नभएर कार्यकर्ताको दबावका कारण एमालेसंग तालमेल गर्ने निर्णय लिएको जानकारी गराएका थिए ।
उनले कांग्रेसका मतदातालाई माओवादीमा र माओवादीका मतदातालाई कांग्रेसमा भोट हाल्न समस्या भएको र कार्यकर्ताको दबाव पनि एमालेसंगै मिल्दा सहज हुने भन्ने भएकाले यस्तो निर्णय भएको बताएका थिए ।












प्रतिक्रिया