चितवन, २० भदौ । नारायणगढका विभिन्न पाँच वटा संघसंस्थाहरुले नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा रहेका बाढीपीडितलाई राहत वितरण गरेका छन् । पाल्ही नन्दन गाउँपालिका हुँदै बग्ने झराही खोलाले डुवानमा पारेको वडा नम्बर १ शंकरपुराका बाढीपीडितलाई उज्ज्वल पोल्ट्री नवलपरासीको संयोजनमा खाद्य सामग्री प्रदान गरिएको हो ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, रोट्रयाक्ट क्लब अफ भरतपुर, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नारायणी मोटर्सले संयुक्त रुपमा शंकरपुराका ९० घर धुरी बाढीपीडितलाई खाद्य सामग्री प्रदान गरेका हुन् ।
अधिकांश दलित समुदाय रहेको उक्त वस्तीमा चामल, दाल र नुन वितरण गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । नवलपरासीको सीमावर्ती गाउँमा बाढीले बितन्डा मच्चाएको र पीडितहरुको घरमा खानको लागि खाद्यान्न नभएको जानकारी पाएपछि विभिन्न संघसंस्थाको सहकार्यमा उक्त ठाउँमा राहत वितरण गरिएको चुकेले बताए ।
पाल्ही नन्दन गाउँपालिका वडा नम्बर १ का वडा सदस्य स्नन्दन प्रसाद चौधरीले बाढीका कारण उक्त ठाउँका सबै घरपरिवार प्रभावित भएको बताए । वडा नम्बर मा रहेको एक सय ९५ घरपरिवार नै बाढी प्रभावित भएको उल्लेख गर्दै चौधरीले उक्त ठाउँका २५ घरधुरी बाढीका कारण पूर्ण क्षति भएको जानकारी दिए । पूर्ण क्षति भएका घरपरिवार मध्ये केही अझै पनि आफन्तको घरमा बसेका र केहीले त्रिपाल टाँगेर बसेका चौधरीले जानकारी दिए ।
बाढीका कारण घरहरु पूर्ण रुपमा क्षति भएका २५ घरधुरीका परिवारलाई सरकारले प्रति व्यक्ति दुई हजार एक सय रुपैयाँको दरले क्षतिपूर्ति बाहेक अन्य सहयोग नगरेको चौधरीको भनाइ छ । केही संघसंस्थाको पहलमा त्यहाँका बाढीपीडितलाई राहत वितरण गरिएको भएपनि सरकारी तवरबाट कुनै पनि राहतको प्याकेज नगएको चौधरीले बताए । स्थानीय बाढीपीडितहरुका अनुसार घरमा खाने अन्न समेत बाढीका कारण क्षति पुगेको तथा खेतबारीमा लगाइएको धानखेती समेत नष्ट भएका छन् ।













प्रतिक्रिया